२०६० फागुन ७ मा १५ जना सैनिकले पक्राउ गरि व्यारेकमा पुर्याएर चरम यातना दिएर मूत्यु भएकी काभ्रेकी १५ बर्षिया मैना सुनुवारको घटनालाई मुख्य बिषय बनाएर निर्माण गरिएको मैना फाल्गुन ४ गते देशभर एकसाथ प्रदर्शनमा आउने भएको छ ।
बिश्वका थुप्रै मुलुक र नेपालका पनि थुप्रै स्थानमा च्यारिटी गरिएको उक्त फिल्मको सार्वजनिक मिती फाल्गुन ४ उपयुक्त देखेर फिक्स गरेको निर्देशक केपी पाठकले जानकारी गराए । सिने मेकर्स प्रालिको ब्यानरमा निर्माण गरिएको मैना फिल्ममा अनिता केसीले मैनाको भुमिका निर्वाह गरेकी छिन् । अनिताको साथमा सो फिल्ममा गोविन्द प्रभात, राधा श्रेष्ठ, सौरभ चौलागाई लगायतले अभिनय गरेका छन् ।
द्वन्द्वको तत्कालीन परिवेश र पृष्ठभूमिमा आधारित 'मैना'को कथालाई पटकथामा ढाल्न लेखक नयनराज पाण्डेले साथ दिएका छन् । केपी पाठक, जीवनाथ सुवेदी र तेजनारायण सापकोटाले निर्माण गरेको सो चलचित्रमा रामेशको संगीत, कुमार महर्जनको द्वन्द्व र जीवनाथ सुवेदीको छायांकन रहेको छ ।

