निकै समय पछि नेपाली फिल्मका हस्तीहरू एकै स्थानमा जमघट हुँदैछन् । यो जमघट भने नेपालमा नभएर दुबईमा हुन लागेको हो । पहिलो पटक बिदेशमा नेपालका चर्चित स्टारहरूलाई जमघट गराउने काम बक्स अफिस फिल्म अवार्डले गरेको हो ।
दुबईको समय अनुसार दिउँसो साढे तीन बजेबाट अल नसरमा सम्पन्न हुन गईरहेको बक्स अफिस फिल्म अवार्डका लागि राजेश हमाल, भुवन केसी, शिब श्रेष्ठ, रेखा थापा, तुलसी घिमिरे, सुमन सिंह लगायतका स्टारहरूको साथमा केहि फिल्मकर्मी र सञ्चारकर्मी दुबई पुगिसकेका छन् । विभिन्न साँस्कृतिक कार्यक्रम सहित वितरण गर्न लागिएको बक्स अफिस फिल्म अवार्डलाई दुवईमा रहेका सन हिल्स प्रोडक्सनका सूर्य अधिकारी, सुमन खाँड, सञ्जय खरेल र दिपक प्रसाइँले संयोजन गरेका हुन् ।
रमाईलो कुरा के छ भने नेपालबाट गएका केहि कलाकार र सञ्चारकर्मी बाहेक सबैबाट आयोजक बक्स अफिसका आरके सुवेदीले पैसा उठाएर दुबई लगिएको बुझ्नमा आएको छ । यस्तै अवार्डका लागि नोमिनेशनमा परेका केहि कलाकार र प्राबिधिकलाई आयोजकले वास्ता नगरेको प्रति उनीहरूले गुनासो पनि व्यक्त गरेका छन् । नाम नखोल्ने सर्तमा एक कलाकारले भने,'मेरो नाम नोमिनेशनमा छ तर मलाई अहिले सम्म जानकारी छैन । यो कस्तो अवार्ड हो ?'
नेपाल जस्तो सानो मुलुक त्यसमा पनि उठ्न नसकेको फिल्मी क्षेत्रमा यसरी बिदेशमा अवार्ड हुनु राम्रो कुरा हो । यस्तो कार्यक्रम गर्ने आँट गर्नेहरूलाई धन्यवाद दिनै पर्छ तर कार्यक्रम बिबाद रहित हुन सकेको खण्डमा भोलिका दिनमा पनि यसले अझ राम्रो प्रशंशा पाउनेमा दुई मत छैन ।

