ब्रायन एडम्स तथा एमएलटिआर पश्चातको अर्न्तराष्ट्रिय स्तरको तेस्रो कन्सर्टको लागि पनि मास्टर अफ सेरेमोनी (एमसी) को रुपमा दिनेश डिसी चयन भएका छन् । पर्सी शुक्रबार हुने चर्चित पाकिस्तानी गायक अतिफ अस्लमको कन्सर्टका लागि ओडसी ईन्टरटेन्मेन्टले डिसीलाई पुनः चयन गरेको हो ।
डिसीले ब्रायनको कन्सर्टलाई पुरै ह्याण्डल गरेका थिए भने एमएलटिआरको कन्सर्टको ओपनिङ गरी आफुलाई अर्न्तराष्ट्रिय स्तरको एमसीको रुपमा प्रमाणित गरेका थिए । जुन श्रृङखला उनको हकमा यो पटक पनि दोहोरिन लागेको हो । उनले अस्लमको कन्सर्टलाई ओपनिङ गर्नेछन् र आफ्नो माईक्रोफोन आरजे प्लस हिरो रेमनदास श्रेष्ठलाई हस्तान्तरण गर्नेछन् ।
बुधबार प्रेस मिट गरी ओडिसीले कन्सर्टको सम्पूर्ण तयारी पुरा भएको जनाउदै कन्सर्ट तयारीको सम्पूर्ण डिजाईन शो गरेको छ । २९ बर्षे ह्याण्डसम हंक अस्लमको कन्सर्ट साँझ पाँच बजे देखि त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुदैछ जुन कन्सर्ट हेर्न २५ हजार दर्शकको सहभागिता रहने आयोजकको अनुमान छ । आयोजकले नेपाली बजारमा अस्लमका ८० प्रतिशत महिला फ्यानहरु रहेको आफ्नो सर्वेक्षणको देखाएको भन्दै कन्सर्टमा महिलाहरुको उपस्थिती ज्यादा हुने तर्क पनि गरेको छ । कन्सर्ट प्रवेशका लागि १० वटा प्रवेशद्धार बनाईने बताईएको छ ।

ओडिसीको नेतृत्वमा भएको यस किसिमको तेस्रो कन्सर्टमा पहिलो पटक नेपाली साउन्ड र लाईटको प्रयोग गरिने भएको जानकारी दिईएको छ भने सुरक्षा ब्यवस्थालाई विगतको कन्सर्ट भन्दा थप मजबुत पारिने आयोजकले दाबी पनि गरेको छ । कन्सर्टकका लागि महानगरिय प्रहरी आयुक्त कार्यालयको कमान्डमा १२ सय प्रहरी परिचालन हुदैछन् भने गरुडका ३ सय ५० सुरक्षाकर्मी र १ सय ५० स्वयमसेवक खटिने छन् ।
२००१ मा तयार भएको पाकिस्तानी फिल्म 'बोल' मा हिरो भएर समेत आफ्नो कला देखाईसकेका अस्लम शुक्रबार दिउँसो २ बजेर ४० मिनेटमा आफ्नो ब्याण्डका दश सदस्य सहित नेपाल ल्याण्ड हुने आयोजकको भनाई छ । उनी पछिल्लो समय बलिउडमा प्लेब्यक सिङगरको रुपमा पनि चिनिन थालेका छन् । उनले वह लम्हे, कोई ना जाने, तुजाने ना, पहली नजरमे, पिया ओ रे पिया जस्ता चर्चित गितहरु गाएका छन् ।

