साढे दुई बर्ष पश्चात अभिनेता रमेश उप्रेती स्वदेश फर्किएका छन् । उनी श्रीमती किरणका साथ आईतबार साँझ ६ बजे नेपाल ल्याण्ड भएका हुन् ।
अमेरिकाको बाल्टीमोरमा बस्दै आएका उनी तीन महिनाको लागि नेपाल आएका हुन् । त्रिभुवन अन्र्तराष्ट्रिय विमान स्थलमा ओर्लिना साथ फिल्मीखबरसंगको एक्सक्लुसिभ कुराकानीमा उनले यो बसाईमा कतैबाट फिल्म खेल्ने अफर आएमा आफू खेल्न तयार रहेको बताए । यस्तै उनले यो तीन महिनाको नेपाल बसाईमा होम प्रोडक्सनबाट फिल्म निर्माणको कन्सेप्ट पनि तयार गर्ने बताए । झुस्स फुलेको दार्हीमा रमेश पहिलेको जस्तो मोटो घाटो छैनन् ।
'मैले दुई बर्ष देखि मेहनत गरेर स्लिम बडी बनाएको हुँ', एयरपोर्ट परिसरमा आफ्नो दुब्लाएको शरिरलाई औल्याउदै उनले भने । उनलाई पिकअप गर्न हिरो समेत रहेका उनका भाई दिवस उप्रेती र अर्का अभिनेता एवं उनका हितैषी मित्र अर्जुन श्रेष्ठ एयरपोर्ट पुगेका थिए । एयरपोर्ट ट्याक्सी पार्किङमा रमेशलाई देखेपछि उनलाई चिन्ने दर्शकले केही बेर घेरेका पनि थिए ।
नेपाल बसाईमा उनले मुख्यत धार्मिक स्थलहरु भ्रमण गर्ने योजना बनाएका छन् । जसमध्ये मनकामना दर्शन उनको प्रमुख प्राथमिकतामा परेको छ । तिहारको मौसम परेकाले उनले यो अवधिमा आफ्ना समकालिन फिल्मकर्मीहरुलाई स्पेशल ट्रिटका साथ भेटघाटको कार्यक्रम पनि तय गरेका छन् ।



