Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`समाजलाई असर नपर्ने गरी फिल्म बनाएको छु` : निर्देशक थापा

फिल्मीखबर, काठमाण्डौ, 2012/11/10

निर्देशक सुवर्ण थापाले आफू निर्देशित फिल्म 'सुनगाभा' ले समाजमा कुनै असर नपर्ने बताएका छन् । नेपाली कलासंस्कृतीको मर्यादालाई ख्याल गर्दै समाजलाई असर नपर्नेगरी इमान्दारिता पूर्वक फिल्म बनाएको निर्देशक थापाले शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताए ।

 

नेपालमा अझै पनि समलिंगीको सम्बन्धलाई सहज रूपले नहर्ने चलन रहेकाले सो कुरालाई केहि सहज बनाउन फिल्मले मद्दत गर्ने निर्देशक थापाको भनाई थियो । 'हुनत मैले समलिंगीको बिषयलाई वकालत गर्न फिल्म बनाएको हैन तर पनि यसले समाजमा क्केहि सकारात्मक असर पार्नेमा बिश्वस्त छु', निर्देशक थापाले भने, 'फिल्म अन्तर्राष्ट्रिय महोत्सवमा नेपाली फिल्मको पहिचान र आधुनिक नेपाली समाजको विम्ब दिन सफल हुनेछ ।'
 

कार्यक्रममा बोल्दै निर्देशक थापाले फिल्मलाई अन्तर्राष्ट्रिय महोत्सवमा निकै रुचाईएको र प्रदर्शन सफल रहेको बताए । मोन्ट्रेयल, ह्याम्बर्ग, मुम्बई, साँ जँ द ल्यूज, पाल्मस्प्रिङ र चेन्नई जस्ता प्रतिष्ठित र महत्वपूर्ण फिल्म महोत्सवहरुमा छनौट भएको सुनगाभाले समयसापेक्ष कथाको चित्रण गर्दै पूर्णतः व्यावसायिक नेपाली फिल्मको धरातलमा रहेर अहिलेको नेपाली फिल्मको आवरणमा चलेको अन्तर्राष्ट्रिय बजारीकरणको बहसमा एक सुखद् नमूना रहेको कुरा निर्देशक थापाले बताए ।



दुई समलिङ्गी युवतीहरुको भावनात्मक सम्बन्धलाई मूल विषय बनाएर निर्माण गरिएको यस फिल्मलाई आमी फिल्मस्ले फ्रान्सको राप्सोडी प्रोडक्सन र सिते फिल्मस्को सहभागितामा निर्माण गरेको हो । फिल्ममा दिया मास्के, निशा अधिकारी र सौगात मल्ल मुख्य भूमिकामा रहेका छन् भने सह–अभिनेताहरुमा बसुन्धरा भुषाल, लक्ष्मी गिरी, मेनुका प्रधान, सरिता गिरी, राजेन्द्र शाक्य, सुनिता ठाकुर र नास्वो जोशी रहेका छन् ।

अधिकांश प्राविधिक टोली फ्रान्सेली रहेको यो फिल्मकी छायाँकार सारा कोर्नू हुन् भने संगीत सिल्भाँ मोरिजे र कुटुम्बको रहेको छ । त्यस्तै सम्पादन सिल्भी गाद्मेरले गरेकी हुन् । यस फिल्मलाई नेपालमा आइकोर फिल्मस् र नरेन्द्र महर्जनले वितरण गर्न लागेका हुन् । शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको रिलिज मिति, प्रोमो र पोस्टर सार्वजनिक गरिएको थियो ।