प्रत्येक हप्ता फ्रेस फिल्म रिलिज हुने यात्रा यो हप्ता भने अलि फरक भएको छ । यस अघि मोफसलमा रिलिज भईसकेका जव जव माया बस्छ र विरासतले राजधानी रिलिज पाएका छन् भने मोफसलमा गत साता राजधानी रिलिज भएको फिल्म इशारा लाग्दैछ ।
वितरक सुनिल मानन्धरका अनुसार विजय थापा निर्देशित जव जव माया बस्छले राजधानीका ११ हल पाएको छ भने विरासतले १५ हल । दुवै फिल्म सुनिल मानन्धरको डिष्ट्रिब्युसन कम्पनीबाट रिलिज हुन लागेका हुन् । जव जव माया बस्छलाई रेखा थापा र जिवन लुईटेलले लिड गरेका छन् भने विरासतलाई भुवन केसी र सोनिया केसीले । यस्तै गत हप्ता रिलिज भएका चार फिल्म आइ एम ईन लभ, नबोलेनी हाँसी राख न, भेटी र इशाराले दुई हप्ते यात्रा गर्न पाएनन् ।
निर्माता अरुण रेग्मीका अनुसार मोफसलका करिब ३५ हलमा फिल्म इशारा लाग्ने छ । ईशारालाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् जहाँ उत्तम प्रधान, भुपेन चन्द, रेखा थापा र उमा बेबी लिड रोलमा छन् । राजधानीमा सोचे अनुरूपको व्यापार गर्न नसक्के पनि इशाराले मोफसलमा राम्रै व्यापार गर्ने आश गरिएको छ ।

