नायिका रेजिना उप्रेतीको प्रस्तुतीमा कविता श्रेष्ठले निर्माण गरेको फिल्म 'वरदान' को प्रोमो सार्वजनिक गरिएको छ । फाल्गुन महिना तिर नेपाल रिलिजको योजना बनाईएको सो फिल्मको प्रोमो बिदेशी बजारलाई लक्षित गरि सार्वजनिक गरिएको हो ।

सोभित बस्नेतले निर्देशन गरेको यो फिल्मलाई आगामी नोभेम्बर २५ तारिखका दिन लण्डनमा प्रिमियर गरिंदै छ । नेपालका थुप्रै स्थानमा बिभिन्न सामाजिक कार्यका लागि च्यारिटी समेत गरिएको यो फिल्मलाई शुरूमा बिश्व बजारमा फैलाएर अनि मात्र नेपालमा सार्वजनिक रिलिज गर्ने निर्माता श्रेष्ठले फिल्मीखबरलाई जानकारी दिईन् । फिल्मको लण्डन प्रिमियरमा प्रस्तुतकर्ता तथा फिल्मकी मुख्य पात्र रेजिना उप्रेती उपस्थित हुनेछिन् । अहिले उनी युरोप टुरमा नै छिन् ।
रेजिनाको साथमा राजेश हमाल, करिष्मा मानन्धर, मुकेश ढकाल लगायतको मुख्य अभिनय रहेको यो फिल्मको कथा सञ्चारकर्मी ध्रुब लम्सालले लेखेका हुन् भने संगीत मनोहर सुनामको रहेको छ । यस्तै फिल्ममा राजेन्द्र खड्गीको द्धन्दनिर्देशन, कृष्ण श्रेष्ठको छायाँकन तथा शिब विकको नृत्यनिर्देशन रहेको छ । फिल्म पारिवारिक प्रेमकथामा आधारित छ ।

