कुनै पनि नयाँ चिज सार्वजनिक गर्न होस् या उदघाटन गर्न पाका व्यक्तिलाई डाक्ने गरिन्छ । तर आईतवार भने एक सामारोहमा पछिल्लो पुस्ताका कलाकारलाई मुख्य अतिथी बनाईयो ।
१० बर्षिया बालिका आकाँक्षा भण्डारीको बाल गीति एल्बम 'नानी' को कलाकारत्रय संयम पुरी, सलोन बस्नेत र दिप्ती गिरीले विमोचन गरे । विमोचनमा उनीहरूलाई बरिष्ठ गीतकार यादव खरेल र संगीतकार राजु सिंहले साथ दिएका थिए । स्वर्गीय लेखनाथ ज्ञवालीको शब्द रहेको एल्बममा सुरेश सेन्चुरीको संगीत समावेश छ । वागेश्वरी संगीतालयको प्रस्तुती रहेको सो एल्बममा ६ गीत समावेश छन् ।
पहिलो पटक यस किसिमको समारोहमा उपस्थित भएकी नायिका दिप्ती गिरीले नयाँ अनुभव भएको बताउँदै बाल गायिका आकाँक्षाको गीत सुनेर आफ्नो बाल्यकालको सम्झना आएको बताईन् । उनले भनिन्, 'मलाई बाल कार्यक्रम चलाउँदाको समयलाई आकाँक्षाले पुन: एक पटक सम्झना गराईदिईन् ।' यस्तै नायक संयम पुरीले पनि यस किसिमको अवसर दिएको प्रति आभार प्रकट गर्दै नयाँ अनुभव पाएको बताए । थुप्रै फिल्ममा बालकलाकार भएर अभिनय गरेका सलोन बस्नेतले पनि यो आफ्नो लागि नयाँ अनुभव भएको बताए ।

