मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

समिक्षाः 'दीपशिखा'

फिल्मीखबर, काठमाण्डौ, 2010/09/10

प्रदर्शनको पालो लामो समय देखि कुरेर बसेको नरेश पौड्यालको चलचित्र दीपशिखा शुक्रबारबाट प्रदर्शनमा आएको छ ।  बिहिबार साँझ चलचित्रकर्मीहरूको ठूलो जमघटकाबीच प्रिमियर गरिएको सो चलचित्र त्यतिबेलै पास भएको थियो जव सिनेमा घरबाट बाहिर निस्किएका अधिकाश चलचित्रकर्मीले नरेश पास भएको संकेत गरेका थिए ।  झण्डै ४ बर्षको अन्तरालपछी चलचित्र निर्माण गरेका पौड्यालले नायिका अरूणिमाको साथ पाएकाले चलचित्र  राम्रो बनेको धेरैले अडकल समेत काटेका छन् ।

कथा :  धनी परिवारमा हुर्कीएकी तर बाबुको माया त्यति नपाएकी शिखा (अरूणिमा लम्साल ) त्यो मायाको खोजीमा हुन्छे जो राजकुमार बनेर  सेतो घोडामा चढी उसलाई लिन आएको हुन्छ । सधै सपनामा देखिने उसको त्यो राजकुमारको अनुहार भने उसले देखेकी हुदिन । जव सपनामा त्यो राजकुमारको अनुहार उसले देख्न खोज्छे तव कुनै कारणबस उ सपनाबाट ब्यूझिएकी हुन्छे ।

सपनाको राजकुमारको खोजीमा भौतारिएकी शिखाले बेलायतबाट फर्किएको निरज (निरज बराल)  लाई भेट्छे, जो उ संग बिवाह गर्न भनि बेलायतबाट नेपाल आएको हुन्छ । शुद्ध नेपाली युवतीको खोजिमा हिडेको निरज र शिखाका बुवा एक अर्काका साथी भएकाले मृत्यु हुनु अघि शिखाको बुबा कुबेर शर्मा  (मुकुन्द थापा)ले निरजको बुबालाई  निरजको बिबाह आफ्नी छोरीसंग गरिदिने बचन गरेको हुन्छ । साथीको बचन स्वरूप छोरीको कुरै नसुनी बिवाहको तरखरमा जुटेको कुबेर शर्माले अन्तत् शिखाको इन्गेजमेन्ट निरजसंग गरिदिन्छ । त्यो बेला सम्म शिखाले  पनि केही हदसम्म निरजलाई आफ्नो बनाएकी हुन्छे ।

इन्गेजमेन्ट भएपछी १५ दिनका लागि  निरज बेलायत फर्किन्छ भने शिखा एक हप्ताका लागि  घुम्न साथीहरूसंग पोखरा जान्छे । कथा यसरी नै लम्बिएको हुन्छ ।  शिखाको मिलन दीपसंग हुनु स्वभाविक हो तर चलचित्रमा दीप र शिखाको मिलन समयमा नहुदा दर्शक आत्तिन सक्छन् । दुई पक्षको प्रेम कथा त्रिपक्ष हुन पुग्दा चलचित्र रोमाञ्चक हुदै जान्छ ।   एक हप्ताको पोखरा टूरमा रहेकी शिखाले बाटोमा दीप (जीवन लुइटेल) लाई भेटेपछी सुरू भएको  चलचत्रिको अर्को पाटोलो नयाँ मोड लिन्छ । कमेडी,केही रोनाधोना, प्रेमको वियोग, द्धन्द्ध, सबै पक्षलाई उठान गरेर निर्माण गरिएको २ घण्टा ५७ मिनेट लामो यो चलचित्रले दर्शकलाई तीन घण्टा हलमा बाधेर राख्न सफल हुने  संकेतहरू चलचित्रमा धेरै देखिएका छन् ।

बिदेशी चलचित्रबाट प्रभावित भएर जसरी नेपाली चलचित्र बनेका हुन्छन् यो चलचित्रमा पनि त्यस्ता धेरै दृश्यहरू प्रभावित भएको देखिन्छ यध्यपी निर्देशकको चलाखीले त्यो कुन चलचित्रबाट प्रभावित भएको हो भन्न दर्शकलाई निकै गाह्रो पर्दछ ।


निर्देशन :  निर्देशक नरेश पौड्यालको चलचित्र क्षेत्रमा १८ बर्षदेखिको अनुभव अनि ४ बर्षदेखि कुनै चलचित्र निर्माण नगरी थुप्रै अनुभव बटुलेपछी निर्माण गरिएको यो चलचित्रको  निर्देशन पक्ष अब्बल ठहरिएको छ । निर्देशक पौड्यालले धडकनबाट जसरी एउटा परिचय बनाएका थिए दीपशिखाबाट त्यो परिचयमा अर्को इटा थप्ने प्रयास यो चलचित्रमा देखिएको छ । शम्भु सापकोटाको छायाकंन रहेको यो चलचित्रको सुरूवातमा सम्वाद, दृश्य र बिषय बस्तु कहि बाझीएको जस्तो देखिएको पनि त्यसपछी आउने हरेक दृश्यले त्यो बाझियो बिषयलाई प्रष्टयाउदै लगेकाले निर्देशक हरेक ट्रनिङ पोइन्टमा चलाख भएको महसुस हुन्छ र त्यससंगै सफल पनि ।


पात्र अभिनय : आफ्नै प्रोजेक्ट भएर होला अरूणिमाले चलचित्रका हरेक दृश्यमा आफुलाई अब्बल ठर्‍याएकी छिन् । कथा समेत उनको रहेको चलचित्रमा शिखा पात्र बनेकी अरूणिमा अभिनय मात्र हैन आफुले प्रयोग गरेका पहिरचनलाई समेत चलाखीपूर्ण ढङ्गले प्रयोग गर्दा उनी निकै राम्री समेत देखिएकी छिन् । यस्तै चलचित्रमा अर्का प्रमुख दुई पात्र जीवन लुइटेल र  निरज बरालले अभिनय पक्ष ठीकै छ । नयाँ नायक भएर होला दुवैको अभिनयमा अझै निख्खारपन आउन जरूरी देखिन्छ । यस्तै चरित्र अभिनेत्री राधा लम्साल र अभिनेता मुकुन्द थापाको अभिनयमा खोट लगाउने स्थान भेटिदैन । यस्तै नायिका अरूणिमा साथी बनेकी ममता प्रधानको अभिनय पनि राम्रो देखिएको छ । भने हास्यमसलाको रूपमा प्रयोग गरिएका बिष्णु सापकोटाले दर्शकलाई मज्जाले हसाउन सक्छन् ।



संगीत : 
गीतमा शब्दको अभावले चलचित्रको संगीतपक्षमा सबैभन्दा बढी कमजोरी  रहेको देखिन्छ । संगीतकार चेतन सापकोटाले संगीत भरेको सो चलचित्रको एउटा गीत  'किन तिमिले यति धेरै'  र कर्णदासले गाएको बाहेक अरू गीतमा दर्शकले स्यावासी नदिन सक्छन् । धडकन चलचित्रमा जसरी उत्कृष्टसंगीत नरेशले समावेश गर्न सफल भएका थिए यो चलचित्रमा सागीतिक पक्षको अभाव खडकिएको देखिन्छ ।   यस्तै चलचित्रको गीत अनुसार कोरियोग्राफी शान्ता नेपाली र बसन्त श्रेष्ठले  सामान्य रूपमै प्रस्तुत गरेका छन् ।

किन हेर्नुपर्छ  : यति तपाई प्रेममा पर्नु भएको छ भने तपाईले एक पटक यो चलचित्र हेरेकै राम्रो ।  प्रेममा पर्नु भएको छैन भने यो चलचित्र हेरेपछी थाहा हुन्छ तपाईलाई प्रेम कस्तो हुन्छ भनेर । प्रेममा ताकत, हुन्छ आट हुन्छ र शक्तिपनि हुन्छ र अन्तमा प्रेमको जीत पनि हुन्छ भन्ने कुरा यो चलचित्रमा देखाइएको छ । अमृता आर्टसको ब्यानरमा निर्माण गरिएको यो चलचित्रमा  परिवारपक्षले पनि सन्तानका खुशीलाई पैसाले मात्र बुझ्ने हैन मनले पनि बुझ्नु पर्छ भन्ने कुरा चलचित्रमा देखाईन खोजिएको छ ।