
बलिराम चौहानको निर्देशनमा बन्न लागेको फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को शुभ मुहूर्त गरिएको छ । मंगलबार हरिपरिवर्तिनी एकादशीको अवसरमा ललितपुरको कार्यविनायक मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै फिल्म निर्माणको औपचारिक सुरुवात गरियो । उक्त समारोहमा निर्देशक चौहानसहित फिल्मका सम्पूर्ण कलाकारहरूको उपस्थिति रहेको थियो ।
फिल्मको छायांकन भोलि बुधबार (७ असोज)बाट काठमाडौंको लाजिम्पाटमा सुरु हुने निर्देशक चौहानले जानकारी दिए । उनका अनुसार फिल्मको छायांकन तालिका ३५ दिनको राखिएको छ । काठमाडौंमा सुरुवाती चरणको छायांकन गरेपछि असोज दोस्रो साता झापा प्रस्थान गरिने उनले बताए । फिल्मको छायांकन सुनसरीको इटहरी उपमहानगरपालिकामा पनि हुनेछ ।
स्काइफल पिक्चर्सको प्रस्तुति रहने फिल्ममा रिहान गिरी, सन्तोष बानियाँ, जीवन जंग बस्न्यात, गुराँस ढकाल, विनोद सिंह थापा, प्रज्वल दुलाल, सुप्रिया खनाल, हिउँवाला गौतम, सवी थापा, श्रेया श्रेष्ठ, सुगम दुलाल, सिर्जना बानियाँलगायतका कलाकारहरूको अभिनय रहनेछ । फिल्मको निर्मातामा भोलानाथ कटुवाल छन् ।
फिल्मको कथा तथा पटकथा बलिराम चौहान र उपाश्री खतिवडाले मिलेर तयार पारेका हुन् । फिल्ममा रवि रोक्काको छायांकन, अर्जुन पोखरेल, प्रशान्त सिवाकोटी र अभिषेक निरौला (एनमक्स)को संगीत, साश्वत श्रेष्ठको पार्श्व संगीत (बीजीएम) र मित्र डी गुरुङको सम्पादन रहनेछ । फिल्मले जेनजी पुस्ताको प्रेम र मित्रताको कथा पेस गर्ने जनाइएको छ ।

