.jpg)
रसुवा बाढीका कारण जनधन र भौतिक संरचनामा ठूलो क्षति भएपछि फिल्म क्षेत्रबाट राज्यलाई निरन्तर आर्थिक सहयोग जुटिरहेको छ । यसैक्रममा फिल्म ‘गौँथली’का निर्माताले पनि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १४ लाख रुपैयाँ सहयोग गरेका छन् । बिहीबार फिल्मका निर्माता द्वय डा. कपिल रिजाल र सुमन गिरीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरे ।
सहयोग रकम हस्तान्तरपछि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै निर्माता गिरीले कठिन समयमा पीडित नागरिकसँगै उभिनु सबैको दायित्व भएकाले फिल्मको तर्फबाट १४ लाख सहयोग गरेको जानकारी दिए । उनले भनेका छन्, ‘यो रकम केवल सहयोग होइन, विपत्तिमा परेका हाम्रा आफ्नै दाजुभाइ तथा दिदीबहिनीप्रतिको माया, सद्भाव र ऐक्यबद्धताको सानो प्रयास हो ।’
गत साउन १ गतेबाट प्रदर्शनमा आएको ‘गौँथली’ सर्वाधिक कमाउने दोस्रो फिल्म बनिसकेको छ । गत सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार फिल्मले १४ भदौसम्म २५ करोड ६८ लाख रुपैयाँ ग्रस कमाएको छ । उक्त अवधिसम्म फिल्मका ९ लाख ३१ हजार ६२७ वटा टिकट बिक्री भएका छन् । फिल्मले यही शनिबार प्रदर्शनको ५१ दिन मनाउँदैछ ।
डा. कपिल रिजालको निर्देशनमा बनेको यस फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, अरुण क्षेत्री, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिनालगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मले शिक्षाको महत्त्वलाई दर्शाउँदै श्रीमान्-श्रीमतीको सम्बन्धको कथा प्रस्तुत गरेको छ ।

