
तपाईंले विश्वमा कुनै फिल्मलाई निर्माताले प्रदर्शनअघि नै ‘ब्लकबस्टर’ घोषणा गरेको सुन्नुभएको छ ? सायद छैन । किनकि, फिल्म प्रदर्शनअघि नै सफलताको घोषणा गर्नु आफैँमा हास्यास्पद हो । तर, अभिनेत्री प्रियंका कार्कीले आफ्नो फिल्म ‘मास्टर्नी’लाई प्रदर्शनअघि नै ‘ब्लकबस्टर’को ट्याग दिएकी थिइन् । फिल्मको टिजरमै ‘२०२६ को सबैभन्दा ठूलो ब्लकबस्टर’ लेखिएको थियो ।
यो घोषणामार्फत प्रियंकाले फिल्मप्रति दर्शकको ध्यान तान्न खोजेको प्रस्ट बुझिन्थ्यो । तर, त्यसले फिल्मको चर्चाभन्दा बढी उनी स्वयंको खिसिटिउरी हुन थालेपछि उनले अन्य प्रचार सामग्रीमा ‘ब्लकबस्टर’ शब्द प्रयोग गरिनन् । यद्यपि, फिल्म सफल हुनेमा उनी विश्वस्त थिइन् । किनकि, रिलिजपूर्व नकारात्मक नै भए पनि फिल्मको चर्चा राम्रो थियो ।
तर, रिलिजपछि फिल्म ‘ब्लकबस्टर’ त टाढाको कुरा, ‘सेमी हिट’ समेत हुन सकेन । भदौ ५ गतेबाट प्रदर्शनमा आएको फिल्मले घरेलु बक्स अफिसमा दयनीय व्यापार गरेको छ । १७ दिनमा फिल्मले ४० लाख १५ हजार रुपैयाँ ग्रस कमाएको चलचित्र विकास बोर्डको तथ्यांकमा देखिन्छ । यसबाट प्रियंकाको हातमा पर्ने भनेको बढीमा १७-१८ लाख हो । अर्थात् फिल्म सुपरफ्लप भएको छ ।
फिल्म व्यावसायिक रूपमा असफल हुनुका पछाडि मुख्यतः दुईवटा कारण देखिन्छन् । पहिलो, ‘म्याथ सिक्ने भए’ गीतको विवाद । यो गीतका कारण सामाजिक सञ्जालमा फिल्म बहिष्कार अभियान नै चलेको थियो । त्यसको फिल्मको व्यापारमा ठूलो प्रभाव पारेको देखिन्छ । दोस्रो, हिन्दी फिल्म ‘दृश्यम’सँग कथा मिल्दोजुल्दो हुनु पनि फिल्म असफलताको कारण मानिएको छ ।
यद्यपि, ‘मास्टर्नी’ हलको कमाइबाट फ्लप भए पनि प्रियंकालाई भने ठूलो घाटा नहुने देखिन्छ । किनकि, फिल्ममा उनीसँगै अरु पनि निर्माताको रूपमा छन् । अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ त्यसमध्ये एक हुन् । फिल्ममा विभिन्न ब्रान्ड समेत जोडिएकाले लगानीको ठूलो हिस्सा उठिसकेको देखिन्छ । तर, फिल्मको असफलताले प्रियंकालाई भने ठूलो झड्का लागेको छ ।

