तीजको छेको पारेर भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बेहुली’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक झन्डै चार मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी दिएको छ । प्रेममा आउने उतारचढावलाई प्रस्तुत गरिएको ट्रेलरमा हाँसो, रोदन र एक्सनको मिश्रण पनि छ ।
ट्रेलरको केन्द्रमा पारस बम ठकुरी (कुल ब्वाय) र दिव्या रायमाझी छन् । कुनै परिस्थितिका कारण लुकिछिपी हिँडिरहेका उनीहरूबीचको प्रेम र वियोगलाई ट्रेलरमा देखाइएको छ । जोगीको भेषमा हुने सुन तस्करीको कथा पनि फिल्मको हिस्सा रहेको ट्रेलरले संकेत गर्छ । सबैभन्दा रोचक पक्ष चाहिँ दिव्या आफ्नै पिता दीलिप रायमाझीको गेटअपमा देखिएको दृश्य हो ।
सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको यस फिल्ममा पारस र दिव्यासहित सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । सुशान्तले यही फिल्मबाट करिब ८ वर्षपछि कमब्याक गरेका हुन् ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा संगीतकार अर्जुन पोखरेल प्रस्तुतकर्ता, प्रताप शमशेर राणा निर्माता, शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता तथा दुर्गा खरेल र शिशिर श्रेष्ठ सह-निर्मातामा रहेका छन् । फिल्मको छायांकन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन विकास दाहाल र बनिष शाहको छ ।

