Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निरुता र प्रकाशको जोडी भिडियोमा, फिल्ममा कहिले ?

फिल्मीखबर, काठमाडौं, 2026/09/06

Prakash Saput and Niruta Singh

 

अभिनेत्री निरुता सिंह म्यूजिक भिडियोमा विरलै देखिन्छिन् । उनी पछिल्लो पटक एक वर्षअघि सार्वजनिक ‘यो जुनी यस्तै भो’ गीतमा देखिएकी थिइन् । त्यसयता धेरै म्यूजिक भिडियोबाट अभिनयको प्रस्ताव आए पनि उनले काम गरेकी थिइनन् । तर, यसपटक गायिका निशा सुनारको नयाँ तीज गीत ‘लाली लपक्कै साडी सपक्कै’मा उनले कम्मर मर्काएकी छन् ।

आइतबार सार्वजनिक भएको गीतको भिडियोमा निरुताको जोडी अभिनेता प्रकाश सपूतसँग बाँधिएको छ । प्रकाशसँग उनको यो पहिलो सहकार्य हो । गीत रिलिजपछि धेरैले उनीहरूलाई फिल्ममा पनि हेर्ने इच्छा व्यक्त गरेका छन् । भिडियोमा प्रकाशकी श्रीमती बिन्दू बोहोरा पनि देखिएकी छन् । बिन्दूको यो पहिलो म्यूजिक भिडियो हो । 

सुनिल बिकको निर्देशन तथा गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोमा गायिका सुनारले पनि नृत्य प्रस्तुत गरेकी छन् । लामो समयदेखि अमेरिकामा बस्दै आएकी उनले करिब ५ वर्षपछि तीज गीत ल्याएकी हुन् । गीतमा प्रकाशले उनलाई गायनमा साथ दिएका छन् । यसअघि उनीहरूले ‘नभन विदेशी’ बोलको गीतमा सहकार्य गरेका थिए ।

सार्वजनिक गीतमा शब्द तथा संगीत प्रकाश स्वयंको हो भने एरेन्ज सुदीप सागरले गरेका हुन् । भिडियोमा हरि हुमागाँइको डीओपी, प्रविण भट्टको सम्पादन तथा सुप्रिम पराजुलीको रंग संयोजन रहेको छ । तीजमा आफ्नो रुप देखेर महिला आफैं लोभिएको प्रसंगलाई गीतमा प्रस्तुत गरिएको छ । गीतले यस वर्षको तीजमा छुट्टै माहोल बनाउने अपेक्षा गरिएको छ ।