सन् २०२२ की मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का पहिलो फिल्म ‘१२ गाउँ’बाटै सफल अभिनेत्रीको रूपमा स्थापित भइन् । फिल्मले ठूलो व्यावसायिक सफलता हासिल गर्दा त्यसको प्रभाव उनको करिअरमा पनि पर्यो । फलतः ‘१२ गाउँ’मा सहायक अभिनेत्री रहेकी उनी त्यसपछि मुख्य भूमिकामा देखिन थालेकी छन् । त्यसमध्येको एक फिल्म हो, ‘अक्षरा’ ।
हरितालिका तीजको छेको पारेर भदौ २६ गतेबाट प्रदर्शन हुन लागेको यस फिल्ममा अक्षरा पात्रको भूमिका नै न्यान्सीले निभाएकी छन् । अर्थात् सिंगो फिल्म उनको काँधमा छ । गत शुक्रबार सार्वजनिक भएको ट्रेलरले पनि उनकै पात्रको वरिपरि फिल्म केन्द्रित रहेको संकेत गर्छ । फिल्ममा आफू मुख्य भूमिकामा भएकाले यतिबेला उनलाई बक्स अफिसको दबाब बढ्न थालेको छ ।
ट्रेलर हेर्दा उनको पात्रको दुईवटा चरण देखिन्छ । सुरुवातमा उनी निरीह छिन् । विवाहपछि श्रीमानले मदिरा सेवन गरेर कुटपिट गर्दा पनि उनी परिवारको इज्जतका खातिर निरीह भएर बसेकी छन् । दोस्रो चरणमा भने उनी माता दुर्गाजस्तै उग्र बनेर बदला लिएको ट्रेलरमा देख्न सकिन्छ । यसले फिल्ममा उनको भूमिका प्रभावशाली रहेको संकेत गर्छ ।
न्यान्सीका अनुसार ‘अक्षरा’ महिलाप्रधान फिल्म हो । फिल्मले हरेक नेपालीको घरघरको कथा उठाएको उनको भनाइ छ । उनी यो फिल्मबाट आफूलाई दर्शकले अक्षराको रूपमा चिन्नेमा पनि विश्वस्त छिन् । उनी भन्छिन्, ‘मलाई दर्शकहरूले अझै पनि ‘१२’ गाउँ’की हिरोइन भनेरै चिन्नुहुन्छ । त्यसबाट म खुसी छु । अब चाहिँ अक्षरा भनेर चिन्नुहोस् भन्ने अपेक्षा छ ।’
फिल्ममा ‘अक्षरा’ पात्र निकै गम्भीर भएकाले त्यसलाई पर्दामा उतार्नु चुनौतीपूर्ण रहेको उनको अनुभव छ । उनी भन्छिन्, ‘पात्र निर्माणका लागि मैले छायांकन हुनुअघि गाउँमा बसेर मानिसहरूको पीडा बुझ्ने प्रयास गरेकी थिइन् । अक्षराले भोगेको पीडा हामी सबैले कहीँ न कहीँ देखेका छौँ । त्यसैले फिल्मले दर्शकको मन छुन्छ भन्ने लाग्छ । मेरो लागि चाहिँ यो फिल्म एकदमै विशेष छ ।’

