Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘टक्सिक’ नचल्दा ‘पार्वती’लाई फाइदा, बढ्यो शो

फिल्मीखबर, काठमाडौं, 2026/09/03

parwati movie

 

दक्षिण भारतीय फिल्म ‘टक्सिक’ले भदौ १० गतेलाई प्रदर्शन मिति घोषणा गरेपछि जनै पूर्णिमा (१२ भदौ)का नेपाली फिल्महरूको भागाभाग भएको थियो । तर, उक्त मितिबाट फिल्म ‘पार्वती’ भने टसमस भएन । धेरैले ‘टक्सिक’सँग भिड्न खोज्नु निर्माताको मूर्खतापूर्ण निर्णय समेत भनेका थिए । तर, अहिले बक्स अफिसमा ‘टक्सिक’माथि ‘पार्वती’ भारी पर्न थालेको छ । 

दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया नआउँदा ‘टक्सिक’को व्यापार भारतसँगै नेपालमा लगातार घटिरहेको छ । ‘पार्वती’को व्यापारमा भने सकारात्मक ‘वर्ड अफ माउथ’को प्रभाव देखिन लागेको छ । रसुवा बाढीका कारण केही दिन फिल्मको व्यापार प्रभावित भएको भए पनि मंगलबारदेखि देशभर फिल्मको व्यापार उत्साहजनक रहेको वितरक करण श्रेष्ठले जानकारी दिए । 
 
वितरक श्रेष्ठका अनुसार हलमा दर्शकको चाप बढेसँगै फिल्मका शो समेत थपिएका छन् । बिहीबार (आज) फिल्मको देशव्यापी शो ११० भन्दा बढी रहेको उनले बताए । फिल्मलाई दर्शकबाट राम्रो प्रतिक्रिया मिलेका कारण आगामी दिनमा शो र व्यापार अझ बढ्ने उनको विश्वास छ । बिहीबारसम्मको व्यापारले फिल्म सफल हुने निश्चित देखिएको उनको भनाइ छ ।

फिल्मकी अभिनेत्री तथा निर्देशक नीता ढुंगाना, कलाकार अशोक दर्जी र निर्माता हरिहर अधिकारीसहितको टिम भने यतिबेला पश्चिम नेपालको यात्रामा छ । दाङ र नेपालगन्जपछि उनीहरूले धनगडी, कैलाली, कञ्चनपुरलगायतका विभिन्न हलमा पुगेर दर्शकसँग भेट गरिरहेका छन् । प्रायः हलमा नीता फिल्मकै गेटअपमा पुग्ने गरेकी छन्, जसले दर्शकमा छुट्टै उत्साह थप्ने गरेको छ ।

दिदीभाइको सम्बन्धको कथामा आधारित यस फिल्ममा नीता र अशोकसहित दीपाश्री निरौला, राज पंगेनी शर्मा, सिरु विष्ट, राधिका कँडेल, आशा पौडेललगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मको कथा नीता स्वयंको हो भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन् । फिल्ममा सुदीप बरालको छायांकन रहेको छ ।