
नेपाल यातायात काठमाडौंमा चल्ने सबैभन्दा परिचित बस कम्पनी हो । लगभग काठमाडौं उपत्यकाभरि नै सञ्चालन हुने नेपाल यातायातका बसमार्फत दैनिक हजारौँले सेवा लिन्छन् । यसैले पछिल्लो समय ब्रान्ड प्रवर्द्धनका लागि नेपाल यातायात पहिलो रोजाइमा पर्ने गरेको छ । अब नेपाली फिल्मको प्रचारका लागि समेत नेपाल यातायात प्रयोग हुन थालेको छ ।
असोज २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘झिँगेदाउ २’का निर्माताले आम दर्शकसम्म पुग्न नेपाल यातायातको साहरा लिएका छन् । काठमाडौंमा चल्ने ८० वटा नेपाल यातायातका बसको सिटको कभरमा फिल्मको प्रचार सामग्री (पोस्टर) प्रिन्ट गरिएको छ । त्यसमा दुईबाट क्यूआर पनि राखिएका छन्, जसमध्ये एउटाबाट टिजर र अर्कोबाट फिल्मको टिकट काट्न मिल्छ ।
फिल्म प्रदर्शनका लागि अब २ साता बाँकी रहँदा निर्माण पक्षले शुक्रबार तीज ब्याटल गीत सार्वजनिक गर्ने तयारी समेत गरेको छ । गीतमा जेठानी-देउरानीको झगडालाई प्रस्तुत गरिएको छ । उक्त गीत भदौ १० गते नै सार्वजनिक गर्ने तयारी गरिएको थियो । तर, सोही दिन रसुवा बाढीले देशमा महाविपत्ति निम्त्याएपछि गीत रिलिज स्थगित गरिएको थियो ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराललगायतका कलाकारहरूको अभिनय रहेको छ ।फिल्ममा सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी छ ।

