
भारतका प्रसिद्ध हिन्दू सन्त नीम करोली बाबाको जीवनबाट प्रेरित फिल्म ‘हनुमान अंश’ यतिबेला चर्चामा छ । त्यसको कारण हो, फिल्मको अप्रत्यासित कमाइ । ७ अगस्टमा प्रदर्शन भएको फिल्मले प्रदर्शनको दुई सातासम्म कमजोर कमाइ गरेको थियो । तर, प्रदर्शनको १७औं दिनबाट फिल्मको कमाइमा आएको उछाल चौथो सातासम्म पनि रोकिएको छैन ।
३५५ शोसहित प्रदर्शनमा आएको फिल्मले भारु १० लाखको ओपनिङ गरेको थियो । प्रदर्शनको दुई हप्तासम्म फिल्मको कमाइ जम्मा ४० लाख मात्र थियो । यसैले भारतीय मिडियाहरूले फिल्मलाई ‘फ्लप’ भन्न थालेका थिए । तर, तेस्रो साताको आइतबारबाट फिल्मको कमाइमा एकाएक वृद्धि भयो । फिल्मले त्यस दिन भारु २ करोड २० लाख ग्रस कमाएको थियो ।
प्रदर्शनको दुई सातासम्म ५० लाख पनि कमाउन नसकेको फिल्मले तेस्रो सातामा भने १० करोड कमाइ गर्यो । त्यसयता फिल्मको कमाइ निरन्तर बढ्दो छ । फिल्मले मंगलबार (हिजो)सम्म भारतमा ५४ करोडभन्दा बढीको व्यापार गरिसकेको छ । चौथो सातामा मात्र फिल्मले ४२ करोड २५ लाख कमाएको ट्रेड पोर्टल स्याकनिल्कले जनाएको छ ।
चार हप्तामा ५४ करोड कमाउँदै ‘हनुमान अंश’ सन् २०२६ मा सबैभन्दा धेरै मुनाफा कमाउने हिन्दी फिल्म बनेको छ । यो फिल्म जम्मा १ करोड ८० लाख भारुमा निर्माण भएको हो । यसको आधारमा फिल्मले २९ सय प्रतिशतभन्दा बढी मुनाफा कमाइसकेको छ । फिल्मको व्यापारिक रफ्तार अझै आक्रामक रहेकाले भारतमा १ सय करोड भारुको आँकडा पार हुने अनुमान गरिएको छ ।
‘डिभाइन डिटोर : द्याट चेन्ज्ड माई लाइफ’ पुस्तकमा आधारित ‘हनुमान अंश’को लेखन तथा निर्देशन विशाल चतुर्वेदीले गरेका हुन् । फिल्ममा शोभिनव सतैया, चन्दन आनन्द, पूर्णिमा तिवारी, अनिल रस्तोगी, निखिल दुबेलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा आमाको निधनपछि दुःखी बनेको एक बालक ईश्वरको शरणमा पुगेको कथा प्रस्तुत गरिएको छ ।

