.jpg)
तीजको छेको पारेर भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’की अभिनेत्री न्यान्सी खड्काले नुवाकोटका बाढीपीडितलाई राहत सामग्री वितरण गरेकी छन् । गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट घरबारविहीन भएका परिवारलाई उनले मंगलबार खाद्यान्न, लत्ताकपडा र फलफूल वितरण गरेकी हुन् ।
राहत सामग्री वितरणपछि उनले नुवाकोटको पिपलटारस्थित आयुर्वेदिक अस्पताल पुगेर त्यहाँ उपचाररत बाढीबाट प्रभावित र उद्धार गरिएका व्यक्तिहरूसँग भेटघाट गरेकी थिइन् । पिपलटारका वडा अध्यक्षसँग भेटेर प्रभावित क्षेत्रको अवस्था र आवश्यकताबारे समेत जानकारी लिएकी उनले उद्दारमा खटिएका सुरक्षाकर्मीहरूलाई मास्क र ग्लोभ्स पनि हस्तान्तरण गरिन् ।
पूर्वमिस नेपाल इन्टरनेसनल समेत रहेकी न्यान्सीले आफूले गरेको सहयोग ठूलो नभए पनि कठिन समयमा पीडितको साथमा उभिन पाएकोमा खुसी लागेको बताइन् । उनले भनिन्, ‘मैले गरेको यो सहयोग ठूलो होइन । तर, यस्तो कठिन समयमा प्रभावित परिवारसम्म पुग्नु, उहाँहरूको कुरा सुन्नु र आफ्नो तर्फबाट सकेको सहयोग गर्नु नै मेरो उद्देश्य हो ।’
बाढीले निम्त्याएको महाविपत्तिका कारण न्यान्सीले प्रदर्शनको संघारमा रहेको आफ्नो फिल्म ‘अक्षरा’को प्रचार समेत गर्न पाएकी छैनन् । यो फिल्मप्रति उनले ठूलो आशा राखेकी छन् । ‘१२ गाउँ’ रिलिजको २ वर्षपछि पर्दामा देखिन लागेकी उनले फिल्ममा विवाहित महिलाको भूमिकामा अभिनय गरेकी छन् । यसमा उनको जोडी अभिनेता सुशील सिटौलासँग बाँधिएको छ ।
विनयराज पौडेल निर्देशित यस फिल्ममा न्यान्सी र सुशीलसहित सुशील पोखरेल, उत्तम केसी, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, गीता अधिकारी, सिर्जना अधिकारीलगायतका कलाकारहरूको अभिनय रहेको छ । सोनी थापा प्रस्तुतकर्ता रहेको फिल्ममा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्मातामा छन् । फिल्मको छायांकन दिपेन बस्न्यातले गरेका हुन् ।

