Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बाढीपीडितलाई सहयोग गर्न नेपाल आए सोनू सूद

फिल्मीखबर, काठमाडौं, 2026/09/01

sonu sood

 

बलिउड अभिनेता सोनू सूद काठमाडौं आइपुगेका छन् । नेपालका बाढीपीडितलाई आश्रय, खाना र पुनर्निर्माणमा सहयोग गर्न उनी आफ्नो ‘सूद च्यारिटी फाउन्डेसन’को टिमसहित मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सिख धर्मालम्बीको अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था ‘खाल्सा एड’का प्रतिनिधिले स्वागत गरेका थिए । 

भदौ १० गते बुधबार तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नेपालमा ठूलो क्षति पुर्‍याएपछि सोनूले सामाजिक सञ्जालमार्फत आफू बाढी प्रभावितलाई सहयोग गर्न नेपाल आउने बताएका थिए । उनले भनेका थिए, ‘नेपाल तिमी एक्लो छैनौ । हामी खाना, आश्रय र पुनर्निर्माणका लागि आवश्यक साथ र सहयोग लिएर आउँदैछौं ।’ 

सोनू भारतमा सहयोगी कलाकारका रूपमा चिनिन्छन् । सन् २०२० मा कोरोनाका कारण भारतमा लकडाउन लागू भएपछि उनले विभिन्न ठाउँमा अलपत्र परेका मजदूरहरूलाई आफ्नो निजी खर्चमा बस, रेल तथा चार्टर्ड विमानमार्फत घर पुर्‍याएका थिए । उनले कोरोनाकालपछि एइपिसी कम्पनीसँगको सहकार्यमा हजारौं मजदूरलाई रोजगारीको अवसर समेत दिएका थिए ।

एक सयभन्दा बढी भारतीय फिल्ममा अभिनय गरिसकेका सोनू विशेषगरी नकारात्मक भूमिकाका लागि परिचित छन् । ‘अरुन्धती’, ‘जोधा अकबर’, ‘दबंग’, ‘सिम्बा’, ‘आर. राजकुमार’ र ‘ह्याप्पी न्यू इयर’ जस्ता फिल्ममा उनको अभिनय यादगार मानिन्छ । उनले हिन्दीबाहेक तेलुगु, तमिल, कन्नड, मलयालम र चिनियाँ भाषाका फिल्ममा समेत अभिनय गरेका छन् ।