.jpeg)
मुस्कान ढकालको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘रत्यौली’को छायांकन सुरु भएको छ । मंगलबार बिहान काठमाडौंको गौशालास्थित पशुपतिनाथ क्षेत्रमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन थालिएको हो । दुई दिन काठमाडौंमा छायांकन गरेर फिल्मको टिम दोलखाको जिरी प्रस्थान गर्नेछ । त्यहाँ एक महिना फिल्मको छायांकन हुने निर्देशक ढकालले बताए ।
नाइटेङ्गल इन्टरटेनमेन्ट र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुने फिल्ममा विजय बराल र पूजा शर्माको मुख्य भूमिका रहनेछ । यो उनीहरूको पहिलो सहकार्य हो । फिल्ममा लक्ष्मी बर्देवा, अर्जुन देवसन, सम्रान्त थापा, निर्भिक भण्डारी, अल्बिन श्रेष्ठ, कायरा कार्की, सुनिल तामाङ, सानू पाण्डेय, एभोन राज उप्रेतीलगायतका कलाकारहरूको पनि अभिनय रहनेछ ।
पूजा शर्मा प्रस्तुतकर्ता रहेको फिल्ममा सुरज आचार्य निर्मातामा छन् । फिल्ममा हरि हुमागाँई र उत्तम हुमागाँइको छायांकन (डीओपी) तथा अर्जुन पोखरेल र सुरेश अधिकारीको संगीत रहनेछ । महाशिवरात्रिको अवसर पारेर फागुन २१ गतेबाट प्रदर्शनमा आउने फिल्मले नेपाली समाज र संस्कृतिलाई केन्द्रमा राखेर सम्बन्धको कथा पेस गर्ने जनाइएको छ ।
लामो समयदेखि निर्देशक सुदर्शन थापासँग मिलेर फिल्म बनाउँदै आएकी पूजाले पहिलो पटक अरु नै निर्देशकसँग सहकार्य गरेर फिल्म बनाउन लागेकी हुन् । फिल्म ‘रावायण’पछि सुदर्शनसँग सम्बन्ध बिग्रिएका कारण उनले मुस्कानसँग ‘रत्यौली’मा सहकार्य गरेकी हुन् । तर, रोचक कुरा के छ भने ‘रत्यौली’ र सुदर्शनको नयाँ फिल्म ‘शुभ विवाह’ एउटै मितिमा रिलिज हुँदैछन् ।

