Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शिक्षकहरूलाई ‘मास्टर्नी’ देखाउँदा रोइन् प्रियंका

फिल्मीखबर, काठमाडौं, 2026/08/27

priyanka karki

 

अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको फिल्म ‘मास्टर्नी’ प्रदर्शनअघि नै एक गीतका कारण विवादमा तानियो । गायक दुर्गेश थापाले तयार पारेको दुईअर्थी भावको ‘म्याथ सिक्ने भए’ गीत विवादमा परेपछि सामाजिक सञ्जालमा फिल्म बहिष्कार अभियान समेत चलेको थियो । पछि प्रियंकाले माफी माग्दै गीत हटाए पनि त्यसको असर यतिबेला फिल्मको व्यापारमा परेको छ । 

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेको छैन । फिल्मको शो पनि ठूलो संख्यामा घटिसकेको छ । यद्यपि, प्रियंका अझै फिल्म चलाउन दौडधुप गरिरहेकी छन् । बुधबार उनले ललितपुरको ग्वार्कोस्थित गुण सिनेमामा शिक्षक महासंघका पदाधिकारीसहित शिक्षक−शिक्षिकाहरूलाई फिल्म देखाएकी थिइन् । 

फिल्म सकिएपछि आफ्नो धारणा राख्ने क्रममा प्रियंका भावुक भएकी थिइन् । उनले विवादित गीतलाई लिएर शिक्षक−शिक्षिकाको अगाडि शिर झुकाएर माफी समेत मागिन् । उनले भनिन्, ‘मेरो नियत कहिल्यै गलत थिएन । गीत भाइरल बनाऊँ, यो गरौं भन्ने केही योजना पनि थिएन । त्यो हामीले सोच्दै नसोचेको कुरा भयो । त्यसका लागि म शिर झुकाएर माफी माग्छु ।’  

उनले यसपटक आफैँसँग निराश भएको पनि बताइन् । ‘मलाई आलोचना वा नकारात्मक कमेन्टले असर गरेको होइन । म यसपटक आफैँसँग निराश भएकी हुँ । मानिस भएपछि कहिलेकाहीँ गल्ती हुन्छ । तर, यो गल्ती चाहिँ कसरी मबाट भयो भन्ने सोच्न पनि सकेकी छैन,’ उनले भनिन्, ‘आज मेरो आँसु रुवाइको होइन, म ‘रिलिफ’ भएकी हुँ । यो आँसु मैले धेरै दबाएकी थिएँ ।’

फिल्म हेरेका शिक्षक−शिक्षिकाले राम्रो प्रतिक्रिया दिएपछि प्रियंकाले खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘मैले विज्ञप्ति जारी गरेर माफी मागेको भए त्यो सही ठाउँमा पुग्यो कि पुगेन भन्ने कुराले मनमा शान्ति थिएन । उहाँहरूले माफ गर्नुभयो कि भएन भन्नेमा पनि म अन्योल थिएँ । फिल्म हेरेपछि उहाँहरूले दिनुभएको प्रतिक्रियाले एकदमै खुसी छु ।’