.jpg)
बुधबार नेपालको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि भारतीय कलाकारहरूले दुःख व्यक्त गरिरहेका छन् । बुधबार साँझ अभिनेता सोनू सूदले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै आफू नेपालको साथमा रहेको बताएका थिए । उनले खाना, आश्रय र पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
यसैबीच, बलिउडका अर्का अभिनेता सञ्जय दत्तले इन्स्टाग्राम स्टोरीमा एक पोस्ट लेख्दै आफू नेपालीहरूसँगै रहेको बताएका छन् । उनले लेखेका छन्, ‘नेपालमा आएको बाढीबाट प्रभावित सबैप्रति मेरो सोच र प्रार्थना छ । यस कठिन समयमा म तपाईंहरूसँगै छु र आफूले सक्ने जुनसुकै तरिकाले सहयोग गर्न सधैँ तपाईंहरूको साथमा रहनेछु । सुरक्षित रहनुहोस् र बलियो रहनुहोस् ।’
नेपाली मुलकी बलिउड अभिनेता मनिषा कोइरालाले पनि सामाजिक सञ्जालमार्फत नेपालका लागि प्रार्थना गर्न आफ्ना प्रशंसकलाई आग्रह गरेकी छन् । नेपाली मूलका चर्चित अमेरिकी फेसन डिजाइनर प्रवल गुरुङले पनि ट्वीटर (एक्स)मा घटनाप्रति दुःख व्यक्त गर्दै शोकमा रहेका र विस्थापित भएका सबैका लागि आफूले प्रार्थना गरिरहेको बताएका छन् ।

केही घन्टाअघि तिब्बत नाकामा थिएँ : अंकुर रतन
बलिउड अभिनेता तथा मोडल अंकुर रतनले आफू मंगलबार नेपाल र तिब्बतको नाका (तातोपानी)मा रहेको जानकारी दिँदै त्यहाँ खिचेको एक तस्बिर सार्वजनिक गरेका छन् । उनले इन्डिया टाइम्ससँग कुरा गर्दै भनेका छन्, ‘हामी सबै कैलाश मानसरोवर यात्रालाई लिएर निकै उत्साहित थियौँ । केही दिनअघि मात्रै मेरी श्रीमती, एकजना आफन्त र म त्यहाँ तस्बिर खिचिरहेका थियौँ ।’
अंकुरले बाढीको घटनाप्रति दुःख व्यक्त गर्दै केही घण्टाअघि नै उक्त स्थानबाट निस्किन पाएकोमा आफू कृतज्ञ रहेको बताएका छन् । उनले भनेका छन्, ‘हामी घटनाभन्दा केही घण्टाअघि नै उक्त स्थानबाट निस्किसकेका थियौं । त्यसका लागि म कृतज्ञ छु । तर, अर्कोतर्फ यो विपद्मा आफ्ना प्रियजन गुमाएका परिवारहरूको पीडाले मलाई दुःखी बनाएको छ ।’

