
बुधबार बिहान चीनको तिब्बततर्फबाट हिमताल फुटेर रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण जनधन र पूर्वाधारमा ठूलो क्षति भएपछि विभिन्न क्षेत्रका व्यक्तिहरूले बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरिरहेका छन् । यसमा नेपाली कलाकारहरूले पनि अग्रसरता देखाएका छन् ।
बुधबार प्रधानमन्त्री कार्यालयले सहयोगका लागि क्यूआर कोर्डसहितको बैंक खाता नम्बर उपलब्ध गराएपछि कलाकारहरूले आर्थिक सहयोग गरिरहेका छन् । अभिनेता विराज भट्टले बिहीबार बिहान १ लाख ५१ हजार रुपैयाँ कोषमा सहयोग गरेका छन् । उनले विपद्मा परेकाहरूको उद्दार, राहत र सुरक्षित पुनर्स्थापनाका लागि सबै नेपालीलाई एकजुट हुन पनि आग्रह गरेका छन् ।
अभिनेता अनमोल केसीले पनि कोषमा सहयोग गरेको जानकारी दिँदै सबैलाई आफूले सकेको सहयोग गर्न अपिल गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘मैले आफ्नो तर्फबाट सकेको सहयोग गरेको छु । अब तपाईंहरूलाई पनि विनम्र आग्रह । रकम सानो वा ठूलो होइन, सहयोगको भावना ठूलो हो ।’ उनले आफूले गरेको सहयोग रकम भने खुलाएका छैनन् ।
अभिनेत्रीहरू ऋचा शर्मा, नीता ढुंगाना, आँचल शर्मा, जिया केसी, हास्य कलाकार अर्जुन घिमिरे (पाँडे), निर्माताहरू सन्तोष सेन, सुशील पोखरेललगायतले पनि आर्थिक सहयोग गर्दै सबैलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न अपिल गरेका छन् । केही कलाकारहरूले भिडियो सन्देशमार्फत रसुवा बाढीका कारण भएको जनधन र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
नेपाल प्रहरीका अनुसार अहिलेसम्म रसुवा बाढीमा परेका १ सय ५७ जनाको शव फेला परेको छ । अझै सयौं सम्पर्कविहीन छन् । बाढीका कारण टिमुरे, स्याफ्रुबेंसी, हाकुबेंसीलगायत रसुवाका एक दर्जनभन्दा बढी बस्ती ध्वस्त भएका छन् भने नुवाकोट र धादिङका तटीय क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ । यतिबेला नेपाली सेनाले हेलिकप्टरमार्फत उद्दार कार्यलाई जारी राखेको छ ।

