अभिनेता निखिल उप्रेतीको निर्देशकीय कमब्याक फिल्म ‘आचार्य’को एक्सनप्रधान टिजर सार्वजनिक गरिएको छ । ज्योतिषले जुराएको साइतअनुसार मंगलबार दिउँसो ३ः०६ बजे सार्वजनिक टिजरले फिल्मको कथावस्तुबारे संक्षिप्त झलक प्रस्तुत गरेको छ । निखिललाई केन्द्रमा राखिएको टिजरमा अन्यायविरुद्ध लड्ने आचार्य पात्रको कथा समेटिएको छ ।
टिजरको सुरुवात सञ्चारकर्मी संजोग बस्यालको ‘भ्वाइस ओभर’बाट हुन्छ, जसमा सत्यको आवाज दबाइएपछि एउटा योद्धा जन्मिने प्रसंग उल्लेख छ । त्यसपछि निखिललाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । उनका प्याराग्लाइडिङदेखि बाइक स्टन्टसम्मका दृश्य टिजरमा समेटिएका छन् । फिल्ममा निखिल संस्कृतमा आचार्य गरेको पात्रको भूमिकामा रहेको टिजरले संकेत गर्छ ।
झन्डै २ मिनेट लामो टिजरमा निखिलसहित पूर्णिका सिंजापति, प्रमोद अग्रहरी, सञ्जय गुप्ता, भारतीय कलाकारहरू दीपराज राणा र रघु बाबु पनि देखिएका छन् । टिजरको एक दृश्यमा भारतको महाराष्ट्रको गाडी प्रयोग हुनु र भारतीय कलाकार पनि देखिनुले फिल्मको कथा नेपाल–भारतसँग जोडिएको हुनसक्ने देखिन्छ । यद्यपि, टिजरमा कथावस्तु स्पष्ट पारिएको छैन ।
निखिल उप्रेती प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मको निर्मातामा कृष्ण भट्टराई रहेका छन् । फिल्ममा निखिल स्वयंको लेखन छ भने मनु विश्वकर्मा, नवराज कृष्ण थापा र सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, शुक्रराज शाहको द्वन्द्व निर्देशन, युग भुसालको संगीत तथा गम्भीर विष्ट र किरण थापाको नृत्य निर्देशन रहेको छ । यो फिल्म असोज ९ गतेबाट प्रदर्शनमा आउँदैछ ।

