.jpg)
२०८१ सालमा प्रदर्शन भएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बक्स अफिसमा इतिहास रच्यो । ४६ करोडमाथिको व्यापार गर्दै ‘सर्वकालीन ब्लकबस्टर’ बनेको यो फिल्मको सिक्वेल समेत घोषणा भइसकेको छ । फिल्मको ‘सक्सेस पार्टी’मा ‘पूर्णबहादुरको सारङ्गी २’ घोषणा गरिएको थियो । तर, अब फिल्मको नाममा ‘पूर्णबहादुर’ नराखिने भएको छ ।
सोमबार (हिजो) फिल्मका निर्माता विनोद पौडेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको थिम पोस्टरमा फिल्मको नाम ‘सारङ्गी’ मात्र उल्लेख छ । उनले ‘सारङ्गी २’ शीर्षकमा अर्को थिम पोस्टर पनि सार्वजनिक गरेका छन् । अर्थात् ‘सारङ्गी’का दुई श्रृंखला लगातार निर्माण हुनेछन् । उनले ‘सारङ्गी’ अर्को वर्ष अर्थात् २०८४ को दशैंमा रिलिज हुने घोषणा समेत गरेका छन् ।
निर्माता पौडेलका अनुसार ‘सारङ्गी’लाई ‘यूनिभर्स’ (धेरै पात्र र घटनालाई जोड्ने फ्रेन्चाइज)को रूपमा निर्माण गर्न लागिएको हो । यसैले फिल्ममा नयाँ र पुराना पात्रहरू जोडिने उनले बताए । फिल्मको मुख्य भूमिकाका लागि अघिल्लो पुस्ताका एक सुपरस्टारलाई अफर गरिएको उनले जानकारी दिए । ती अभिनेतासँग केही चरण सकारात्मक छलफल भएको उनको भनाइ छ ।
निर्देशकको टुंगो लाग्न बाँकी रहेको ‘सारङ्गी’को छायांकन फागुनमा गर्ने तयारी गरिएको छ । यो फिल्मको पोस्ट प्रोडक्सनको काम सुरु भएपछि आगामी जेठमा ‘सारङ्गी २’को छायांकन सुरु हुने निर्माता पौडेलले जानकारी दिए । उनका अनुसार फिल्मका दुवै श्रृंखलाको स्क्रिप्ट तयार भइसकेको छ भने केही मुख्य कलाकारहरूसँग मौखिक सहमति पनि भइसकेको छ ।
‘पूर्णबहादुरको सारङ्गी’पछि निर्माता पौडेलले ‘अभिमन्यू’ र ‘रोल नं. १’ गरी दुई फिल्म निर्माण गरेका थिए । तर, दुवै असफल भए । यी दुई फिल्मबाट करिब ५ करोड डुबाएपछि उनले आफ्नै कीर्तिमानी फिल्मलाई फ्रेन्चाइजको रूपमा अगाडि बढाउन लागेका हुन् । उनका अनुसार ‘सारङ्गी’का दुई श्रृंखला कथा र मेकिङको हिसाबले ‘पूर्णबहादुरको सारङ्गी’भन्दा अब्बल हुनेछन् ।

