Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनमोलले नखेलेपछि ‘एक्का मिस्सी बादशाह’का लागि हिरो खोजिँदै

फिल्मीखबर, काठमाडौं, 2026/08/17

Ekka Missi Badshah

 

गत साउनमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई मुख्य भूमिकामा लिएर फिल्म ‘एक्का मिस्सी बादशाह’को घोषणा भयो । घोषणाअघि निर्माण पक्षले अभिनेताको पनि टुंगो लगाउने प्रयास गरेको थियो । निकट स्रोतका अनुसार सबैभन्दा पहिला अनमोल केसीलाई फिल्म अफर गरिएको थियो । तर, उनले रुचि नदेखाएपछि साम्राज्ञीलाई मात्र अनुबन्धित गर्दै फिल्मको घोषणा गरियो ।

अब निर्माण पक्षले फिल्मका दुई मुख्य पात्र कृष र अर्जुनका लागि अडिसन आह्वान गरेको छ । यी दुई पात्रका लागि २५ देखि ३५ वर्ष उमेरका कलाकारको खोजी गरिएको हो । अडिसनमा सहभागी हुन इच्छुकले अनलाइनमार्फत फर्म भरेर अभिनयसहितको अडिसन भिडियो पठाउनुपर्नेछ । आवेदन बुझाउने अन्तिम मिति भदौ १४ गतेसम्म रहेको छ ।

निर्माण पक्षले अडिसन आह्वानका लागि सोमबार सार्वजनिक गरेको पोस्टरमा कृष र अर्जुन पात्रबारे संक्षिप्तमा जानकारी पनि गराइएको छ । पोस्टरमा उल्लेख भए अनुसार कृष परिस्थितिवश विशेष सुविधा पाएको तर आफूलाई कुनै निश्चित परिभाषामा सीमित राख्न अस्वीकार गर्ने पात्र हो । अर्जुन भने दबाबमा काम गर्ने, सधैं जिम्मेवार र सीमितताभन्दा पर सोच्ने पात्र हुनेछ । 

मोहिनीदेवी राईको प्रस्तुतिमा बन्ने फिल्मलाई सञ्जय राईले निर्देशन गर्नेछन् । उनको यो डेब्यू निर्देशकीय फिल्म हुनेछ ।  निर्देशक राई स्वयं निर्माता रहेको फिल्ममा सुदीप्ता कार्यकारी निर्मातामा छिन् । फिल्ममा नरेन्द्र मैनालीले छायांकन, निकेश कार्की र रोमन बज्राचार्यको संगीत तथा सुनिल शिवभक्तिको सम्पादन रहनेछ । फिल्मको छायांकन फागुनबाट सुरु हुनेछ । 

Most Visited News (monthly)