संविधान दिवसको अवसर पारेर असोज २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कार्की साइँला’को टिजर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक १ मिनेट ३६ सेकेण्ड लामो टिजरले फिल्मको मूल कथालाई प्रस्ट पारेको छ । अभिनेता जितु नेपाल (मुन्द्रे)लाई केन्द्रमा राखिएको टिजरमा भरिया पात्रको संघर्ष र उसलाई समाजले गर्ने व्यवहारलाई देखाइएको छ ।
टिजरअनुसार जितु भरियाको भूमिकामा छन् । अविवाहित उनलाई गाउँका एक व्यक्तिले बिहे गरेर देखाउन चुनौती दिएपछि जितुले एक साताभित्रै बिहे गर्ने घोषणा गर्छन् । त्यसपछि उनको जीवनमा आउने विभिन्न उतारचढावलाई टिजरमा देखाइएको छ । टिजरले फिल्ममा हाँसोसँगै पारिवारिक सम्बन्ध र सामाजिक परिवेश पनि समेटिएको संकेत दिन्छ ।
राजेन्द्र बस्नेतको निर्देशनमा तयार भएको यस फिल्ममा जितुसहित प्रियना आचार्य, शुशील पोखरेल, विरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, दिप्सन लिम्बू, कमल देवकोटा, मेनुका आचार्य, गणेश राजभण्डारीलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । बालकुमार राई र निर्भिक बञ्जारा निर्माता रहेको फिल्ममा कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ताको रूपमा छन् ।
अनन्त राई कार्यकारी निर्माता रहेको फिल्ममा डम्बर राईको कथा, सविन अधिकारी र शंकर धितालको लेखन, पटकथा तथा संवाद, डम्बर राईको छायांकन, सन्देश शाहको सम्पादन, किरण दाहालको द्वन्द्व निर्देशन, दिप्सन लिम्बू र संकेत अगस्तीको संगीत तथा कमल राईको नृत्य निर्देशन रहेको छ । फिल्मका मुख्य सहायक निर्देशक रोजल थापा हुन् ।

