Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गौँथली’को व्यापार २३ करोड पार, ‘हली’ र ‘कमला मिस’को कति ?

फिल्मीखबर, काठमाडौं, 2026/08/17

gauthali

 

१ साउनबाट प्रदर्शनमा आएको फिल्म ‘गौँथली’ले घरेलु बक्स अफिसमा २३ करोडको आँकडा पार गरेको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको सिनेपाः विवरणमा फिल्मको कमाइ २३ करोड ५५ लाख १२ हजार ५०२ रुपैयाँ ग्रस देखिएको छ । फिल्मको यो कमाइ ३१ साउनसम्मको हो । उक्त अवधिसम्म फिल्मका ८ लाख ५५ हजार ७५२ वटा टिकट बिक्री भएका छन् ।

फिल्मले पछिल्लो ७ दिनमा मात्र ३ करोड ८४ लाखभन्दा बढी कमाएको देखिन्छ । फिल्मको अघिल्लो आइतबार (२४ साउन)सम्मको कमाइ १९ करोड ७१ लाख ६ हजार ५ रुपैयाँ थियो । यसले फिल्मको व्यापारिक रफ्तार अझै आक्रामक रहेको देखाउँछ । फिल्मले ‘टक्सिक’ रिलिजअघि अर्थात् १० भदौसम्म २५ करोडको आँकडा पार गर्ने अनुमान गरिएको छ । 

‘गौँथली’ नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाउने दोस्रो फिल्म बनिसकेको छ । यसले ‘कबड्डी ४’को २१ करोड ४० लाखको रेकर्ड तोड्दै उक्त उपलब्धि हासिल गरेको हो । अब योभन्दा अगाडि ४६ करोड ८७ लाख ४१ हजार रुपैयाँसहित फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ मात्र छ । यो फिल्मको व्यापारलाई उछिन्न भने ‘गौँथली’लाई अझै २३ करोडभन्दा बढी कमाउनुपर्छ । 

बोर्डले ‘गौँथली’सँगै साउन २२ गतेदेखि प्रदर्शनमा आएका दुई फिल्म ‘हली’ र ‘कमला मिस’को कमाइ विवरण पनि सार्वजनिक गरेको छ । जसमा ‘हली’ले ७ हजार ७१० वटा टिकट बिक्रीबाट २१ लाख ७७ हजार ६० रुपैयाँ ग्रस कमाएको छ । त्यस्तै, ‘कमला मिस’ले ७१८ वटा टिकट बिक्रीबाट २ लाख ६१ हजार ८४५ रुपैयाँ ग्रस कमाएको बोर्डको तथ्यांकमा देखिन्छ ।