
‘अगस्त्य’का निर्देशक सौरभ चौधरीको आगामी फिल्म ‘द राइज अफ साम्राज्य’मा कलाकारहरू भित्रिने क्रम जारी छ । सौगात मल्ल र दयाहाङ राई अनुबन्धित भइसकेको फिल्ममा अब अर्का अभिनेता नाजिर हुसेनको पनि प्रवेश भएको छ । निर्माताले दुई साताअघि नै उनीसँग लिखित सम्झौता गरेका हुन् । फिल्ममा उनको भूमिकाबारे भने खुलाइएको छैन ।
निर्देशक चौधरीसँग नाजिरको ‘अगस्त्य’पछि यो दोस्रो सहकार्य हो । सोही फिल्ममा उनले सौगातसँग पनि काम गरेका थिए । दयाहाङसँग भने फिल्म ‘वीर विक्रम’मा उनको पहिलो पटक सहकार्य भएको थियो । ‘साम्राज्य’मार्फत १० वर्षपछि उनीहरू फेरि एकसाथ पर्दामा देखिन लागेका हुन् । सौगात, दयाहाङ र नाजिरलाई एउटै फिल्ममा हेर्न दर्शकलाई रोचक हुने देखिन्छ ।
‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’ जस्ता उपन्यासका लेखक बुद्धिसागरको लेखन रहेको फिल्ममा प्रवेश चौधरी र निला देव निर्माताको रूपमा छन् । सह-निर्मातामा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे रहेका छन् । मानकृष्ण महर्जनको छायांकन तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने फिल्मको भदौबाट पूर्वको कोशी ब्यारेक क्षेत्रमा ७० दिनसम्म छायांकन हुनेछ ।
निर्देशक चौधरी ‘साम्राज्य’लाई ठूलो क्यानभासमा फिल्म बनाउने योजनामा छन् । यो अहिलेसम्मकै ठूलो ‘स्केल’को एक्सन फिल्म हुने निर्माण पक्षको दाबी छ । फिल्मको छायांकनका लागि कोशी ब्यारेक क्षेत्रमा भव्य सेट समेत निर्माण गरिँदैछ । विभिन्न कालखण्डको कथा समेटिएको फिल्ममा भिएफएक्सको प्रयोग पनि अत्याधिक हुने जनाइएको छ ।

