
विगत एक दशकदेखि फिल्मको असफलतासँग जुधिरहेका अभिनेता इमरान हाश्मीका लागि सन् २०२६ सुखद बन्ने देखिएको छ । शुक्रबार (२९ साउन)बाट प्रदर्शनमा आएको उनी अभिनीत फिल्म ‘आवारापन २’ले बक्स अफिसमा सानदार सुरुवात गरेको छ । यो उनको दुई दशक लामो अभिनय करिअरकै सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बनेको छ ।
भारतीय ट्रेड एनालिस्ट तथा समीक्षक तरण आदर्शका अनुसार फिल्मले भारु २३ करोड ४० लाखको ओपनिङ गरेको छ । योसँगै ‘आवारापन २’ सन् २०२६ मा ‘धुरन्धर २’ र ‘बोर्डर २’पछि सर्वाधिक ठूलो ओपनिङ गर्ने फिल्म बनेको तरणले उल्लेख गरेका छन् । फिल्मले सन् २००७ मा रिलिज भएको ‘आवारापन’को लाइफटाइम कलेक्सनलाई समेत पहिलो दिनमै उछिनेको छ ।
फिल्मको कमाइलाई लिएर तरणले भनेका छन्, ‘अडियन्स रक्ड–ट्रेड सक्ड । ‘आवारापन २’ले पहिलो दिनमै सनसनीपूर्ण कमाइ गरेको छ । फिल्मको पहिलो दिनको कमाइले १० देखि १२ करोड भारुको ओपनिङको अनुमान गर्नेहरूलाई समेत चकित पारेको छ । आज शनिबार स्वतन्त्रता दिवसको बिदा भएकाले फिल्मले अझै ठूलो कमाइ गर्ने अपेक्षा गरिएको छ ।’
अहिलेसम्म इमरान हाश्मीको मुख्य भूमिका रहेका दुईवटा फिल्मले मात्र दोहोरो अंकमा ओपनिङ गरेका थिए । सन् २०१२ मा ‘राज २’ले पहिलो दिन १०.३५ करोड कमाएको थियो । त्यसको पाँच वर्षपछि सन् २०१७ मा ‘बादशाहो’ले रिलिजको दिन १२.६० करोड कमाउँदै उक्त रेकर्ड तोडेको थियो । ‘आवारापन २’ले भने इमरानलाई करिअरकै सबैभन्दा ठूलो ओपनिङ दिलाएको छ ।
नितिन कक्कडको निर्देशन तथा विशेष भट्टको निर्माणमा बनेको फिल्ममा इमरानले ‘शिवम पण्डित’को भूमिका निर्वाह गरेका छन् । फिल्ममा शबाना आजमी, दिशा पटानी, विजयन्त कोली र सुविन्दर विक्कीको पनि अभिनय रहेको छ । फिल्मले दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको छ । विशेषगरी इमरान हाश्मीको अभिनयको प्रशंसा भइरहेको छ ।

