
भुटानी, नेपाली र हिन्दी भाषामा तयार भएको फिल्म ‘टनेल २६’को टिजर सार्वजनिक गरिएको छ । अभिनेता प्रदीप खड्का क्रियटिभ प्रोड्युसर रहेको यस फिल्मको टिजरमा एउटा टनेलभित्र जोम्बी बनेका मानिसहरू र उनीहरूबाट जोगिन गरिएको संघर्षलाई देखाइएको छ । टिजरले कोरियन ड्रामा ‘ट्रेन टु बुसान’को झल्को दिएको छ, जुन जोम्बी कथामा आधारित थियो ।
१ मिनेट लामो टिजरमा नेपाली कलाकारहरू अनुप विक्रम शाही र आना शर्मासहित भुटानी अभिनेता सांगे सेल्ट्रिम देखिएका छन् । अनुप र सांगे जोम्बी बनेका मानिसहरूसँग टनेलभित्र लडिरहेका देखिन्छन् भने आना कुनै रणनीति बनाइरहेको अवस्थामा चित्रित छिन् । जोम्बीका डरलाग्दा दृश्य र ब्याकग्राउन्ड स्कोरले टिजरलाई प्रभावशाली बनाएको छ ।
डोरजिग्स प्रोडक्सन, रेल्टिक पिक्चर्स, डोमसिप र रोलिङ इमेज पिक्चर्सले निर्माण गरेको यस फिल्ममा सांगे, अनुप र आनासहित रोशिनी दादा, निदुप दोर्जी, फुन्त्सोक धोन्डेन, डेकी लामो, जामयाङ तेन्पा, फुन्त्सो, किनराब, चेन्चो लामा, केजाङ काज, छेकी डब्ल्यू वाङ्दीलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा प्रदीप खड्काले पनि अभिनय गरेका छन् ।
आगामी अक्टोबर (असोज−कात्तिक)मा नेपाल, भारत र भुटानमा एकसाथ प्रदर्शन हुन लागेको फिल्मलाई डीडी किन्लेले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा उनी स्वयंको सम्पादन रहेको छ । नेपालका दीर्घ गुरुङ र भुटानका सांगे टी तेन्जिङले फिल्मको छायांकन गरेका हुन् । विगत ६ महिनादेखि थाइल्याण्डमा फिल्मको पोस्ट प्रोडक्सनको काम भइरहेको जनाइएको छ ।

