
अभिनेत्री रेखा थापाको निर्देशकीय कमब्याक फिल्म ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक १ मिनेट १८ सेकेण्ड लामो टिजरले फिल्मको कथावस्तु र केन्द्रीय द्वन्द्वबारे प्रकाश पारेको छ । प्रेम र बाध्यताको चेपुवामा परेका एक पात्रको जीवनमा आउने उतारचढावलाई टिजरमा देखाउन खोजिएको छ ।
टिजरको केन्द्रमा अभिनेता दिल श्रेष्ठ छन् । उनको तीन युवतीसँग प्रेम देखिएको छ । सृष्टि श्रेष्ठ र नीति शाहसँग उनको विवाह भएको समेत देख्न सकिन्छ । त्यसपछि सम्बन्धमा आउने उतारचढाव र भावनात्मक अन्तरद्वन्द्वलाई मर्मस्पर्शी ढंगले चित्रण गरिएको छ । यसले फिल्ममा प्रेमसँगै प्रशस्त ‘ट्विस्ट’ रहेको संकेत गर्छ । टिजर हेर्दा फिल्म पूर्ण रूपमा पारिवारिक देखिन्छ ।
तीजको छेको पारेर भदौ २६ गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा दिल, सृष्टि र नीतिसहित नम्रता श्रेष्ठ, मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ, लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहेको छ । दिलले यही फिल्मबाट ९ वर्षपछि अभिनयमा पुनरागमन गरेका हुन् ।
पत्रकार ध्रुव लम्सालको लेखन रहेको फिल्ममा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माताको रूपमा छन् । फिल्ममा सुदीप बरालको छायांकन, बनिष शाहको सम्पादन, प्रशान्त सिवाकोटीको संगीत तथा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ । फिल्मले प्रेमकथामार्फत पारिवारिक र सामाजिक भावनालाई प्रस्तुत गर्ने जनाइएको छ ।

