.jpg)
अभिनेता पल शाहले पहिलो पटक निर्माण गर्न लागेको फिल्म ‘यानीमाया’को छायांकन सुरु भएको छ । शुक्रबार काठमाडौंको गागलफेदीमा शुभसाइत गर्दै फिल्मको छायांकन थालिएको हो । १० दिन काठमाडौंमा छायांकन गरेपछि फिल्मको टिम पर्वत प्रस्थान गर्नेछ । त्यहाँ २५ दिन छायांकन हुने जनाइएको छ । फिल्मको छायांकन तालिका ३५ दिनको राखिएको छ ।
ओम प्रतीकको लेखन तथा निर्देशनमा बन्न लागेको यस फिल्ममा पल शाह र अञ्जना मगरको मुख्य भूमिका रहनेछ । उनीहरूले यसअघि केही म्यूजिक भिडियोमा सहकार्य गरिसकेका छन् । फिल्ममा शिशिर वाङ्देल, गजित बिष्ट, लोकेन्द्र लेखक, अङ्कित खड्का, राज थापा, कर्मा लामा, संगीता थापा, विशाल पुलामी, नारायणी खत्रीलगायतका कलाकारहरूको पनि अभिनय रहनेछ ।
पल शाह फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा पलसँगै चन्द्र ज्योति आले पनि निर्मातामा छिन् । फिल्ममा नवराज उप्रेतीको छायांकन, कुमार महर्जनको द्वन्द्व निर्देशन, भूपेन्द्र अधिकारीको सम्पादन तथा रेनिश फागोको रंग संयोजन रहनेछ । फिल्मलाई प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते प्रदर्शन गर्ने घोषणा गरिएको छ ।
.jpg)
‘यानीमाया’लाई यसअघि विकास सुवेदीले निर्देशन गर्ने तयारी गरेका थिए । फिल्मको वर्कसपका लागि कलाकारसहितको टिम ढोरपाटन समेत पुगेको थियो । तर, छायांकन सुरु नहुँदै निर्माता र निर्देशकबीच सिर्जनात्मक मतभेद भएपछि विकासले फिल्मबाट हात झिकेका थिए । यसपछि पलको आग्रहमा फिल्मको निर्देशनको जिम्मेवारी ओम प्रतीकले सम्हालेका हुन् ।

