.jpeg)
अभिनेत्री झरना थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘ए मेरो हजुर ५’को शुभ मुहूर्त गरिएको छ । शुक्रबार बिहान ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरमा विशेष पूजाआजा गर्दै फिल्मको मुहूर्त गरिएको हो । उक्त अवसरमा फिल्मका मुख्य जोडी अनमोल केसी र सुहाना थापाले मुहूर्त सट दिएका थिए । फिल्ममा उनीहरू जोडीका रूपमा प्रस्तुत हुनेछन् ।
मुहूर्तलगत्तै फिल्मको छायांकन समेत सुरु भएको छ । शुक्रबार एकदिन काठमाडौंमा छायांकन गरेर फिल्मको टिम बाजुरास्थित बडीमालिका मन्दिर प्रस्थान गर्नेछ । उक्त मन्दिरमा जनै पूर्णिमाको अवसरमा लाग्ने धार्मिक मेलामा फिल्मको छायांकन गर्ने तयारीमा निर्माण पक्ष रहेको छ । त्यसपछि खप्तडस्थित राष्ट्रिय निकुञ्ज क्षेत्रमा पनि छायांकन गरिनेछ ।
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनिल कुमार थापाले निर्माण गर्ने यस फिल्ममा अनमोल र सुहानासहित दीलिप रायमाझी, झरना थापा, सलोन बस्नेत, निरज पन्थी, आशा भुसाललगायत कलाकारहरूको अभिनय रहनेछ । झरनाले ‘ए मेरो हजुर’को श्रृंखलामा २५ वर्षपछि काम गर्न लागेकी हुन् । यो फिल्मको पहिलो भागमा उनी मुख्य भूमिकामा थिइन् ।
झरना थापा र सरिन पोखरेलको लेखन रहेको फिल्ममा सञ्जय लामाको छायांकन, साहिल खानको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, राजन मोक्तानको रंग संयोजन, कल्याण सिंह, आशिष अविरल, कोशिश क्षेत्री, सलिन मगर, एकदेव लिम्बूको संगीत तथा उदय राज पौडेलको संगीत संयोजन रहनेछ । फिल्मको वितरण काफिया फिल्म्स र कुबेर सिने डिष्ट्रिब्युसनले गर्नेछन् ।

