.jpeg)
हाल प्रदर्शनरत फिल्म ‘गौँथली’को व्यावसायिक सफलताले अभिनेता अरुण क्षेत्रीको करिअर नै कायापलट गरेको छ । एकातिर फिल्मको सफलता र अर्कोतिर उनको अभिनयको प्रशंसा हुँदा अहिले उनी सर्वाधिक माग हुने अभिनेता बनेका छन् । उनलाई लिएर फिल्म बनाउन निर्माताहरूबीच प्रतिस्पर्धा नै देखिन थालेको छ । उनले पनि लगालग फिल्म साइन गरिरहेका छन् ।
अरुणले केही दिनअघि निर्देशक मिलन चाम्सको नयाँ फिल्म ‘म मदनकृष्ण’ साइन गरे । अब उनी अर्को फिल्म ‘लोकल हिरो’मा अनुबन्धित भएका छन् । बिहीबार निर्माता सरोज न्यौपाने र अरुणबीच लिखित सम्झौता भएको हो । सरोज तिनै निर्माता हुन्, जसले यसअघि निर्माण गरेको फिल्म ‘जेरी अन टप’ ब्लकबस्टर भएको थियो ।
‘लोकल हिरो’को औपचारिक घोषणा भने ३ वर्षअघि नै भएको हो । त्यसबेला फिल्मको मुख्य भूमिकामा ‘जारी’ जोडी दयाहाङ राई र मिरुना मगरलाई अनुबन्धित गरिएको थियो । तर, विभिन्न कारणले फिल्म निर्माण हुन सकेन । अब निर्माता न्यौपानेले अरुणलाई मुख्य भूमिकामा लिएर फिल्म बनाउन लागेका हुन् । फिल्ममा दयाहाङ र मिरुना भने हुने छैनन् ।
अनन्या फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मका अन्य कलाकार र निर्देशकबारे कुनै जानकारी गराइएको छैन । केही दिनमा विशेष कार्यक्रममार्फत निर्देशक, कलाकार र प्राविधिकको टिम चिनाउने तयारीमा निर्माण पक्ष छ । भविष्य खड्काको पनि लगानी रहने फिल्मले नेपाली समाजको स्थानीय कथा र मौलिक परिवेशलाई रोचक शैलीमा प्रस्तुत गर्ने जनाइएको छ ।

