.jpg)
विगत पाँच सातादेखि बक्स अफिसमा आफ्नो बलियो पकड बनाएको फिल्म ‘गौँथली’लाई चुनौती दिन हरेक साता हलमा नयाँ फिल्म लागिरहेका छन् । कहिले ‘स्पाइडर म्यान : ब्रान्ड न्यू डे’ त कहिले ‘हली’ र ‘कमला मिस’ले फिल्मको दबदबा तोड्ने प्रयास गरे । तर, कुनै सफल भएनन् । अब ‘गौँथली’लाई चुनौती दिन अर्को नयाँ फिल्म ‘लज्जावती’ हलमा लागेको छ ।
साउन महिनाको अन्तिम फिल्मका रूपमा शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले देशभर ५० भन्दा बढी शो पाएको छ । तर, टिकट बुकिङमा भने दर्शकको उत्साह देखिएको छैन । बिहानी शोमा देशव्यापी अकुपेन्सी ५ प्रतिशत पनि पुग्न सकेन । अब फिल्मले दर्शकबाट कस्तो प्रतिक्रिया पाउँछ, त्यसले नै व्यावसायिक भविष्य निर्धारण गर्नेछ ।
आहा फिल्म्स र क्यानी मल्टिभिजन आइएनसीको सहकार्यमा निर्माण भएको फिल्मका लेखक तथा निर्देशक राजबहादुर साने हुन् । फिल्ममा मुकुन भुसाल, श्रीकृष्ण निरौला, धिरेन शाक्य, जानुका विश्वकर्मा, मेनुका माझी, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, बिनोद श्रेष्ठ, दिपक थापा, काजल भुजेललगायतका कलाकारहरूको अभिनय रहेको छ ।
सौरभ वली प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया हुन् । दिनेश बुढाथोकी कार्यकारी निर्माताको रूपमा छन् । फिल्ममा दिव्यराज सुवेदीको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन, बाबुल गिरीको संगीत तथा देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । फिल्मको देशव्यापी वितरण कुबेर सिने डिस्ट्रिब्युसनले गरेको छ ।

