.jpeg)
‘झलिको’, ‘बस्यौ लगक्कै’, ‘दुःख साटम्ला’ जस्ता चर्चित गीतका गायक अर्जुन सापकोटाले फिल्म ‘ककाकिकी’बाट पार्श्व गायनमा डेब्यू गरेका छन् । उनले फिल्मका लागि शीर्ष गीत गाएका हुन् । गीतमा अर्जुन स्वयंको संगीत तथा हुकलाइन रहेको छ भने गायनमा उनलाई मेलिना राईले साथ दिएकी छन् । गीतका शब्द सन्तोष सापकोटाले लेखेका हुन् ।
बुधबार गीतको भिडियोको छायांकन समेत पूरा भएको छ । जर्सिङ पौवामा छायांकन गरिएको भिडियोमा गायक सापकोटा आफैँ देखिएका छन् भने पवित्रा साकी (मिस पवि), सजिना खनाल र निश्चल खड्काले पनि नृत्य गरेका छन् । भिडियोको कोरियोग्राफी मिग्मा डि लेप्चाले गरेका हुन् । यो गीत भदौ पहिलो साता सार्वजनिक हुने निर्देशक बिक्की अग्रवालले जानकारी दिए ।
श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर भदौ १९ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्ममा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, महेश त्रिपाठी, माओत्से गुरुङ, मनोज गजुरेल, दीया मास्के, प्रकाश घिमिरे, शिशिर वाङ्देल, सुवास गजुरेल, खड्गबहादुर पुन (खबपु), पवन खतिवडा, सीडी विजय अधिकारी, रेअर राईलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
‘कमेडी दरबार’का बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको संयुक्त निर्देशन रहेको फिल्ममा सरोज भण्डारी, विकास अर्याल र बिक्की अग्रवालको कथा तथा संवाद लेखन छ । पटकथा भने बिक्की स्वयंको हो । फिल्मका निर्मातामा श्रृद्धा प्रसाईं र सुमित्रा थापा रहेका छन् । सुदीप बरालको छायांकन रहेको फिल्ममा मिलन विक्रम शाहको सम्पादन तथा शिशिर ठटालको पार्श्व संगीत छ ।

