.jpeg)
बिहीबार काठमाडौंको बाँसबारीस्थित रामालय इभेन्ट्समा अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिशा भट्टराईले औँठी साटासाट गर्दै इन्गेजमेन्ट गरे । तर, उनीहरूको इन्गेजमेन्ट वास्तविक भने थिएन । नयाँ फिल्म ‘शुभ विवाह’को घोषणा कार्यक्रमलाई रोचक बनाउन निर्माण टिमले फरक शैली अपनाएको थियो, जुन कार्यक्रमको मुख्य आकर्षण रह्यो ।
फिल्ममा प्रदीप र सनिशा जोडी बनेर प्रस्तुत हुनेछन् । यो उनीहरूको पहिलो सहकार्य हो । फिल्ममा हरिहर शर्मा, बसुन्धरा भुसाल, सुनिशा बजगाईँ, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अन्शु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ, रमेश बज्राचार्यलगायतको पनि अभिनय रहनेछ ।
प्रियादर्शन फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्नेछन् । सुप्रिया कटुवाल (थापा) निर्माता तथा साम भुजेल कार्यकारी निर्माता रहेको फिल्मको कथा प्रदीप श्रीवास्तवले लेखेका हुन् । पटकथा तथा संवाद भने रामशरण पाठकको रहेको छ । फिल्ममा राजेश श्रेष्ठले छायांकन, मिलन श्रेष्ठको सम्पादन तथा अर्जुन पोखरेलको संगीत रहनेछ ।

रेभन आरती सिंहको पार्श्व संगीत, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, विक्रम स्वारको नृत्य निर्देशन तथा साहिल खानको ट्रेलर सम्पादन रहने फिल्मलाई महाशिवरात्रिको अवसर पारेर फागुन २१ गते प्रदर्शन गरिनेछ । फिल्मको छायांकन भने भदौमा हुनेछ । ‘सात वाचाभन्दा परको सत्य’ ट्यागलाइन राखिएको फिल्मले विवाहको विषयलाई केन्द्रमा राखेर प्रेमकथा पस्किने जनाइएको छ ।

