करिब ५ वर्षअघि अभिनेत्री पूजा शर्माले गरेको एउटा घोषणाले उनका प्रशंसकलाई समेत निराश तुल्यायो । उनले आफूले निर्माण तथा अभिनय गरेको फिल्म ‘रामकहानी’को गीत सार्वजनिक कार्यक्रममा विवाहपछि फिल्ममा काम नगर्ने उद्घोष गरेकी थिइन् । अबको २–३ वर्षपछि विवाह गर्ने र त्यसपछि सुशील बुहारी भएर बस्ने उनको भनाइ थियो ।
यसबारे उनले एक अन्तर्वार्तामा समेत भनेकी छन्, ‘विवाहपछि म यो लाइन छाड्छु । कहिल्यै पनि दुई डुंगामा खुट्टा हाल्नु हुँदैन । एउटा न एउटाबाट चिप्लिन्छ । यसैले फिल्ममा हुँदासम्म म यसलाई नै ध्यान दिन्छु । परिवार भएपछि सासु–ससुराको माया पाएर ज्ञानी बुहारी भएर बस्न चाहन्छु । विवाहपछि परिवारलाई समय दिने हो, फिल्म भनेर बस्दिनँ । यो मेरो पहिल्यैदेखिको सोच हो ।’
तर, गत वर्ष युद्ध बानियाँसँग विवाह बन्धनमा बाँधिएकी पूजाले अहिले भने बोली फेरेकी छन् । बुधबार एक फिल्मको विशेष शोमा उपस्थित भएकी उनले श्रीमानले साथ दिएका कारण फिल्ममा काम गरिरहेको बताइन् । उनले भनिन्, ‘मेरो पार्टनरले नै फिल्ममा काम गर भन्नुहुन्छ । जो व्यक्तिबाट साथ–सहयोग मिल्नुपर्ने हो, उहाँले नै त्यसो भनेपछि किन नगर्ने ?’
डेढ महिनादेखि ‘महाराजधिराज’को छायांकन व्यस्त रहेकी पूजा भदौबाट आफ्नै लगानीमा बन्न लागेको फिल्म ‘रत्यौली’मा काम गर्ने तयारीमा छिन् । उनको पाइपलाइनमा ‘मन बिनाको धन २’ र ‘एक्का तीन’ पनि छन् । यसरी हेर्दा यस वर्ष उनलाई फिल्म छायांकनमा भ्याइनभ्याइ हुने देखिन्छ । फिल्मसँगै उनले ललितपुरमा रेस्टुरेन्ट व्यवसाय समेत सञ्चालन गर्दै आएकी छन् ।

