
‘द ब्लू लाइट’का निर्माता तथा निर्देशक बलिराम चौहान (ग्याट्स्बी)को नयाँ फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य अभिनेत्रीमा गुराँस ढकाल अनुबन्धित भएकी छन् । चौहानले बुधबार उनीसँग लिखित सम्झौता गरेका हुन् । फिल्ममा उनको जोडी अभिनेता रिहान गिरीसँग बाँधिने जनाइएको छ । अभिनयको हिसाबले गराँसको यो दोस्रो फिल्म हुनेछ ।
अभिनेता संजोग रसाइलीले सञ्चालन गर्ने ‘एक्टर्स हब एकेडेमी’मा अभिनय सिकेकी उनले २०८१ सालमा प्रदर्शन भएको हरर फिल्म ‘ममी’बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । यसपछि उनले केही म्यूजिक भिडियोमा पनि अभिनय गरिन् । ‘ल्याङ्ग ल्याङ्ग’बाट पहिलो पटक मुख्य भूमिकामा देखिन लागेकी उनले फिल्मको पात्रका लागि विशेष तयारी समेत गरेकी छन् ।
‘हरेक युवाको कथा’ भनिएको यस फिल्ममा रिहान र गुराँससहित सन्तोष बानियाँ र जीवनजंग बस्न्यातको पनि मुख्य भूमिका रहनेछ । निर्माण टिम अझै एक अभिनेताको खोजीमा छन् । त्यसपछि मुख्य कलाकारको लाइनअप पूरा हुने निर्देशक चौहानले बताए । उनका अनुसार फिल्मले जेनजी पुस्ताको प्रेम, संघर्ष, स्वतन्त्रता र सपनाको कथा भन्नेछ ।
दशैं सकिएलगत्तै छायांकन सुरु हुने फिल्ममा भोलानाथ कटुवाल निर्माताको रूपमा छन् । उनी यसअघि ‘द ब्लू लाइट’मा सह-निर्माता थिए । स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक चौहान र उपाश्री खतिवडाले लेखेका हुन् । फिल्मलाई यस वर्षको अन्त्यतिर प्रदर्शनमा ल्याउने योजनामा निर्माण पक्ष रहेको छ ।

