.jpg)
साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘गौँथली’ले बक्स अफिसमा रेकर्डको चाङ बनाइरहेको छ । चौथो हप्तासम्म ‘छक्का पञ्जा’का श्रृंखलादेखि ‘जेरी अन टप’, ‘जारी’, ‘परान’, र ‘१२ गाउँ’ जस्ता फिल्मलाई कमाइमा पछि पारिसकेको फिल्मले अब अर्को ठूलो उपलब्धि हासिल गरेको छ । फिल्मले ‘कबड्डी ४’को २१ करोड ४० लाखको रेकर्ड तोड्न सफल भएको छ ।
बिहीबार दिउँसो साढे १२ बजेसम्म फिल्मले २१ करोड ४१ लाखभन्दा बढी कमाइ गरेको चलचित्र विकास बोर्डको सिनेपाः बक्स अफिसमा देखिन्छ । योसँगै ‘गौँथली’ नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाउने दोस्रो फिल्म बनेको छ । अब योभन्दा अगाडि ४६ करोड ८७ लाख ४१ हजार रुपैयाँसहित ‘पूर्णबहादुरको सारङ्गी’ मात्र छ ।
‘गौँथली’ले गत आइतबार (२४ साउन)सम्म १९ करोड ७१ लाखभन्दा बढी कमाइ गरेको थियो । त्यसयता ३ दिनमा फिल्मले डेढ करोडभन्दा बढी कमाइसकेको छ । आगामी सोमबार बोर्डको बक्स अफिस विवरण सार्वजनिक हुँदा फिल्मको कमाइ २३ करोड पुग्ने देखिन्छ । फिल्मको व्यापारिक रफ्तार अझै आक्रामक रहेकाले २५ करोडमाथि व्यापार हुने अनुमान गरिएको छ ।
डा. भोला रिजालका छोरा डा. कपिल रिजालको निर्देशनमा बनेको यस फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारहरूको अभिनय रहेको छ । फिल्मले शिक्षाको महत्त्व दर्शाउँदै श्रीमान्-श्रीमतीको सम्बन्धको कथा पेस गरेको छ ।

