Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लज्जावती’ नेपालीपन बोकेको प्रेमकथा हो : मुकुन भुसाल

फिल्मीखबर, काठमाडौं, 2026/08/12

mukun bhusal

 

‘चोपेन्द्र’को रूपमा परिचित अभिनेता मुकुन भुसालले फिल्म ‘लज्जावती’ नेपालीपन बोकेको प्रेमकथा रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा उनले नेपाली समाजकै प्रेमकथामा फिल्म आधारित भएकाले दर्शकलाई आफ्नो जीवनसँग मेल खाएको महसुस हुन सक्ने बताए । उनले यो आफ्नो पहिलो लभस्टोरी फिल्म रहेको समेत दाबी गरे । 

‘यो मेरो पहिलो लभस्टोरी फिल्म हो । यसअघि मैले फरक कथामा बनेका फिल्ममा अभिनय गरिरहेको थिएँ । त्यसैले पनि फिल्मप्रति उत्साहित छु,’ उनले भने, ‘यो नेपालीपन बोकेको प्रेमकथा हो । यसैले धेरैको जीवनसँग मिल्न पनि सक्छ । फिल्ममा लभस्टोरीलाई ‘सिनेम्याट्रिक’ शैलीमा प्रस्तुत गरिएको छ । दर्शकले फिल्मबाट भरपूर मनोरञ्जन लिन सक्नुहुन्छ ।’

अर्का अभिनेता श्रीकृष्ण निरौलाले फिल्ममा आफूले पागल प्रेमीको भूमिकामा अभिनय गरेको प्रस्ट पारे । जीवनमा पहिलो पटक मायामा परेको व्यक्तिले प्रेममा पाउने पीडा र त्यसपछिको उतारचढाव कसरी सामना गर्छ भन्ने कुरा आफ्नो पात्रमार्फत देखाइएको उनले बताए । उनका अनुसार फिल्म हेरेपछि दर्शकले निस्वार्थ र साँचो प्रेमको परिभाषा बुझ्नेछन् । 

त्यस्तै, अभिनेत्री मेनुका माझीले फिल्मको कथावस्तु एकदमै बलियो रहेको बताइन् । उनका अनुसार फिल्ममा प्रेमकथालाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ । फिल्ममा प्रेमसँगै परिवार र जीवनका उतारचढावका कुरा पनि समेटिएकाले हरेक उमेरका दर्शकले कथामा आफूलाई पाउने उनले बताइन् । फिल्म हेर्दा कतिपय दृश्य र घटनाले आफ्नै जीवनको झल्को दिने उनको भनाइ छ ।

यही शुक्रबार (२९ साउन)बाट प्रदर्शनमा आउन लागेको यस फिल्ममा जानुका विश्वकर्मा, धिरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्कालगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । फिल्मका निर्देशक राजबहादुर साने हुन् भने सौरभ वली प्रस्तुतकर्ता तथा कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्मातामा छन् ।