
भारतीय गायिका साधना सरगमको स्वरमा रहेको २५ वर्षअघिको कालजयी गीत ‘गुराँस फुल्दा’लाई ‘रि-क्रिएट’ गरेर फिल्म ‘मास्टर्नी’मा समावेश गरिएको छ । गीतको नयाँ भर्सनमा मेलिना राईले स्वर दिएकी छन् । सोमबार गीत सार्वजनिक भएसँगै दर्शकबाट मिश्रित प्रतिक्रिया मिलेको छ । धेरैले मेलिनाको स्वरको प्रशंसा गरे पनि संगीत पक्षको आलोचना गरेका छन् ।
२०५८ सालमा निर्माण भएको फिल्म ‘सुपरस्टार’मा समावेश ‘गुराँस फुल्दा’ गीतमा नृत्य गरेकी अभिनेत्री सुस्मिता केसी (बम्जन)ले पनि ‘रि-क्रिएट’ गीतप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । उनले बुधबार फेसबुकमा एक पोस्ट लेख्दै कलाकार, प्रस्तुति र दृश्य फेरिए पनि दर्शकको मनमा वर्षौँदेखि बसेको मौलिक छाप कहिल्यै नफेरिने उल्लेख गरेकी छन् ।
उनले लेखेकी छन्, ‘फूल फुलाउने प्रयास धेरैले गर्न सक्छन्, तर वर्षौँ बितिसक्दा पनि दर्शकको मनमा उही सुगन्ध, उही भावना र उही जादू छोड्ने सौभाग्य सबै गुराँसलाई कहाँ मिल्छ र । सायद त्यसैले केही सिर्जना केवल ‘गीत’ हुँदैनन्, ती एउटा समयका साक्षी हुन्छन्, एउटा पुस्ताका सम्झना हुन्छन्, र कलाकारको यात्रामा कहिल्यै नमेटिने अमूल्य पाना हुन्छन् ।’
उनले गीतलाई नयाँ आवरण र प्रस्तुति दिन सकिने भए पनि मौलिक जादूलाई फेरि उही रूपमा जन्माउन नसकिने जिकिर गरेकी छन् । उनी अगाडि लेख्छिन्, ‘आज पनि त्यो मौलिक गुराँसको सुगन्ध दर्शकको मनमा उस्तै रहेछ- सायद यही नै साँचो सिर्जनाको सबैभन्दा ठूलो जित हो । बाँकी कुरा त दर्शकको आँखाले, मनले र प्रतिक्रियाले आफैं भनिसकेको छ, मलाई केही भन्नै पर्दैन ।’
नयाँ भर्सनको ‘गुराँस फुल्दा’ गीतको भिडियोमा अभिनेत्री द्वय प्रियंका कार्की र वर्षा राउतले नृत्य प्रस्तुत गरेका छन् । भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी आकर्षक देखिन्छ । उनले पहिरनदेखि डान्स स्टेपसम्म निकै ध्यान दिएका छन् । यसैले भिडियोलाई लिएर दर्शकहरू सन्तुष्ट देखिन्छन् । तर, गीतको संगीतले भने पुरानो भाव जोगाउन नसकेको दर्शकको प्रतिक्रिया छ ।

