
देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सका सञ्चालक तथा फिल्म निर्माता नकिम उद्दिनका छोरा ओविद उद्दिनले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् । हरर थ्रिलर फिल्म ‘भिडियोटेप’बाट उनले निर्देशकीय यात्रा सुरु गर्न लागेका हुन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा गरियो ।
आगामी भदौ ५ गतेबाट छायांकन सुरु हुने फिल्ममा उपासना सिंह ठकुरी र कुन्दन शाक्यको मुख्य भूमिका रहनेछ । कुन्दनले यही फिल्मबाट मुख्य अभिनेताको रूपमा डेब्यू गर्न लागेका हुन् । उनी अभिनेता कर्मा शाक्यका भाइ हुन् । फिल्ममा कृशल श्रेष्ठ, अस्तित्व भट्टचन, रिसु राउत, जीवन अधिकारी, शेखर चापागाँई, सिद्धार्थ सिंहलगायतका कलाकारहरूको पनि अभिनय रहनेछ ।
एप्पल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको निर्मातामा नकिम उद्दिन रहेका छन् । वशिष्ट प्रधानको छायांकन रहने फिल्मका प्रोडक्सन म्यानेजर ईश्वर घिमिरे हुन् । महेश बराल मुख्य सहायक निर्देशकमा छन् । ३० दिनको सेड्युलमा मुस्ताङ क्षेत्रमा छायांकन हुने फिल्मले बाइक राइडरको कथा भन्नेछ । फिल्मको बजेट ४ करोड अनुमान गरिएको छ ।
फिल्मको घोषणा कार्यक्रममा बोल्दै निर्देशक उद्दिनले आफ्नो मनपर्ने जनरा नै हरर भएकाले पहिलो निर्देशन पनि यही जनराबाट गर्न लागेको बताए । उनले भने, ‘मलाई हरर फिल्म एकदमै मनपर्छ । नेपाली र विदेशी हरर फिल्म हेरेर म यो जनराप्रति आकर्षित भएको हुँ । दर्शकलाई थ्रिल महसुस गराउने नै हररले हो । ‘भिडियोटेप’बाट पनि त्यही अनुभूति दिलाउने प्रयास गर्नेछौँ ।’

