.jpeg)
‘अगस्त्य’का निर्देशक सौरभ चौधरीको आगामी फिल्म ‘द राइज अफ साम्राज्य’मा कलाकारको लाइनअप रोचक बनिरहेको छ । केही दिनअघि फिल्मको मुख्य भूमिकामा सौगात मल्ल अनुबन्धित भएका थिए । अब अर्का अभिनेता दयाहाङ राईको पनि फिल्ममा प्रवेश भएको छ । उनीसँग दुई साताअघि नै निर्माताले लिखित सम्झौता गरेका हुन् ।
सौगात र दयाहाङ नेपाली फिल्मका सर्वाधिक सफल जोडी हुन् । ‘लुट’बाट एकसाथ स्टार बनेका उनीहरूले ‘कबड्डी’ श्रृंखला, ‘दुई नम्बरी’, ‘हात्तीछाप’, ‘मितज्यू’ जस्ता फिल्ममा सहकार्य गरिसकेका छन् । उनीहरू एकसाथ फिल्ममा देखिँदा दर्शकमा पनि उत्साह थपिने गरेको छ । यसअर्थ ‘साम्राज्य’मा सौगात र दयाहाङको प्रवेशले फिल्मप्रति दर्शकको चासो थप बढाउने देखिन्छ ।
‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’ जस्ता उपन्यासका लेखक बुद्धिसागरको लेखन रहेको फिल्ममा प्रवेश चौधरी र निला देव निर्माताको रूपमा छन् । सह-निर्मातामा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे रहेका छन् । मानकृष्ण महर्जनको छायांकन तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने फिल्मको भदौबाट पूर्वी जिल्लामा ७० दिनसम्म छायांकन हुनेछ ।
निर्देशक चौधरीका अनुसार ‘साम्राज्य’ नेपाली फिल्म उद्योगकै ठूलो स्केलमा निर्माण हुने ‘एपिक एक्सन ड्रामा’ हुनेछ । फिल्मको कथा, मेकिङ र प्रस्तुतीकरणमा नयाँपन ल्याउने प्रयास गरिएको उनले बताए । फिल्मले दर्शकलाई फरक अनुभव दिने उनको विश्वास छ । फिल्ममा विभिन्न कालखण्डको कथा समेटिएको उनले जानकारी दिए ।

