.jpg)
२०५८ सालमा निर्माण भएको फिल्म ‘सुपरस्टार’मा समावेश चर्चित गीत हो, ‘गुराँस फुल्दा’ । भारतीय गायिका साधना सरगमको स्वर रहेको गीतमा दयाराम दाहालको शब्द तथा सचिन सिंहको संगीत छ । अब यो कालजयी गीतले २५ वर्षपछि पुनर्जन्म पाएको छ । अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको फिल्म ‘मास्टर्नी’मा गीतलाई ‘रि-क्रिएट’ गरेर समावेश गरिएको छ ।
संगीतकार वसन्त सापकोटाले ‘रि-क्रिएट’ गरेको गीतमा मेलिना राईले स्वर दिएकी छन् । संगीत संयोजन सुहास शाक्यको रहेको छ । गीतको भिडियोमा प्रियंका कार्की र वर्षा राउतले परम्परागत पहिरनमा आकर्षक नृत्य प्रस्तुत गरेका छन् । गम्भीर विष्टको कोरियोग्राफीमा तयार भएको भिडियोमा पवन सुस्लिङ्गको छायांकन, सम्पादन तथा कलर रहेको छ ।
‘मास्टर्नी’को यसअघि सार्वजनिक प्रमोसनल गीत ‘म्याथ सिक्ने भए’ विवादमा परेपछि युट्युबबाटै हटाउनु परेको थियो । यसपछि फिल्मको प्रचारका लागि प्रियंकाले भुवन केसीबाट अनुमति लिएर ‘गुराँस फुल्दा’लाई ‘रि-क्रिएट’ गरेकी हुन् । गीत रिलिज भएसँगै युट्युबमा सकारात्मक प्रतिक्रिया मिलेको छ । मेलिनाको स्वर र भिडियोमा झल्किएको मौलिकपनको दर्शकले प्रशंसा गरेका छन् ।
भदौ ५ गतेबाट प्रदर्शन हुने फिल्ममा प्रियंकासहित सिम्रन खड्का, आर्यन सिग्देल, गौरी मल्ल, दीपकराज गिरी, दीपाश्री निरौला, प्रमोद अग्रहरी, सरोज खनाल, जितु नेपाल, ऋचा शर्मा, अनुपविक्रम शाहीलगायतका कलाकारहरूको अभिनय रहेको छ । आयंका फिल्म्सको ब्यानरमा प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्कीले फिल्मको निर्माण गरेका हुन् ।
भारतीय मूलका शुभेन्द्र घोषको निर्देशनमा बनेको फिल्मका कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा (प्रियंका कार्कीकी आमा) र सिमोस सुनुवार हुन् । प्रियंका स्वयंको कथा रहेको फिल्मको पटकथा शान बस्नेतले लेखेका हुन् । संवाद भने प्रियंका र शानको हो । युवराज इन्दोरियाको छायांकन रहेको फिल्मलाई राजा सिंह सिदुले सम्पादन गरेका छन् ।

