Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अशोक दर्जीको स्वरमा ‘पार्वती’को ‘मेरी दिदी’ गीत सार्वजनिक

फिल्मीखबर, काठमाडौं, 2026/08/10

Neeta Dhungana Adhikari, Ashok Darji

 

अभिनेत्री नीता ढुंगानाको डेब्यू निर्देशकीय फिल्म ‘पार्वती’को नयाँ गीत ‘मेरी दिदी’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंको कीर्तिपुर सिनेप्लेक्समा आयोजित एक कार्यक्रमका बीच निर्माण पक्षले बाल गायक अशोक दर्जीको स्वरमा रहेको मर्मस्पर्शी गीत दर्शकमाझ ल्याएको हो । कार्यक्रममा अशोकले ब्यान्डको साथमा सांगीतिक प्रस्तुति पनि दिएका थिए । 

धनबहादुर गिरी (बाबुल)को शब्द तथा संगीत रहेको गीतमा दिदीभाइको सम्बन्धलाई मुख्य विषय बनाएर रक्षाबन्धनको प्रसंग जोडिएको छ । टाढा गएकी दिदीलाई सम्झँदै भाइले गरेको बिलौना गीतमा सुन्न सकिन्छ । भिडियोमा नीता ढुंगाना र अशोक दर्जी देखिएका छन् । नीताले फिल्ममा अटिजम भएकी पार्वती पात्रको भूमिकामा अभिनय गरेकी छन् ।

जनै पूर्णिमाको अवसर पारेर भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्ममा नीता र अशोकसहित दीपाश्री निरौला, राज पंगेनी शर्मा, सिरु विष्ट, राधिका कँडेल, राजेन्द्र नेपाली, आशा पौडेल, सुवास गजुरेललगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मलाई ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले निर्माण गरेका हुन् । कार्यकारी निर्मातामा शंकर पाण्डे रहेका छन् ।

नीता फिल्म्सको प्रस्तुति रहेको फिल्मको कथा नीता स्वयंको हो भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन् । फिल्ममा सुदीप बरालको छायांकन, साहिल खानको सम्पादन, एलिस कार्की र शिवम् रसाइलीको पार्श्व संगीत, प्रशान्त सिवाकोटी, बाबुल गिरी, सिद्धार्थ सरकार पौडेल र दीपक शर्माको संगीत तथा रामजी लामिछानेको नृत्य निर्देशन संगीत रहेको छ ।