.jpg)
२०७९ सालमा प्रदर्शन भएको फिल्म ‘झिँगेदाउ’लाई देउरानी र जेठानीको झगडाले नै सुपरहिट बनायो । अब यो फिल्मको दोस्रो श्रृंखला (सिक्वेल) असोज २ गतेबाट प्रदर्शनमा आउँदैछ । गत बुधबार सार्वजनिक भएको टिजर हेर्दा सिक्वेलले पनि दर्शकलाई आकर्षित गर्ने छनक देखाएको छ । घरायसी झगडादेखि भावनात्मक पक्षसम्म टिजरमा सशक्त देखिएको छ ।
टिजर रिलिजसँगै युट्युबमा भ्युजको बाढी नै आएको छ । ५ दिनमै टिजरलाई १० लाखभन्दा बढीले हेरिसकेका छन् भने ६ सयभन्दा बढी कमेन्ट प्राप्त छन् । त्यसमा दर्शकको उत्साह झल्किएको छ । कतिले केकी अधिकारी र आँचल शर्माको झगडालाई मन पराएका छन् भने कतिले निर्देशकको सोचको प्रशंसा गरेका छन् । यसरी हेर्दा टिजरले दर्शकलाई प्रभावित पारेको देखिन्छ ।
टिजरका केही दृश्य फेसबुक र टिकटकमा समेत भाइरल भएका छन् । यी दुई प्लेटफर्ममा मात्र टिजरलाई १ करोडभन्दा बढीले हेरिसकेको निर्माण पक्षले जनाएको छ । विशेषगरी रुखमाथि खिचिएको केकी र आँचलको भुत्लाभुत्लीको दृश्य सामाजिक सञ्जालमा व्यापक फैलिएको छ । फिल्ममा उनीहरू देउरानी-जेठानीको भूमिकामा छन् ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको यस फिल्ममा केकी र आँचलसहित आर्यन सिग्देल, महेश त्रिपाठी, सरोज खनाल, कुशल विष्ट, हिउँवाला गौतम, बसुन्धरा भुषाल, चैत्यदेवी, संगम भण्डारी, अयभराज बराल, अंशु महर्जन, विजय देउजा, उत्तम केसीलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मलाई सुलभ प्रतिक देउजा र समीक्षा देउजाले संयुक्त रूपमा निर्माण गरेका हुन् ।
कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको प्रस्तुति रहेको फिल्ममा विष्णु घिमिरे (कल्पित)को डीओपी, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । फिल्मको पटकथा तथा संवाद परिच्छेद सेनले लेखेका हुन् भने कथा गोविन्द फुयाल र शिशिर चालिसेको हो ।

