विनयराज पौडेलको निर्देशनमा बनेको फिल्म ‘अक्षरा’को टिजर सार्वजनिक गरिएको छ । सोमबार युट्युबमार्फत सार्वजनिक २ मिनेट लामो टिजरले फिल्मको कथावस्तु संक्षिप्तमा प्रकाश पारेको छ । अभिनेता सुशील सिटौला र अभिनेत्री न्यान्सी खड्कालाई केन्द्रमा राखिएको टिजरमा महिलामाथि हुने हिंसालाई मर्मस्पर्शी रूपमा देखाइएको छ ।
टिजरअनुसार न्यान्सीको धनाढ्य परिवारका युवक (सुशील)सँग विवाह हुन्छ । तर, विवाहअघि सोझा र इमानदार देखिएका सुशीलले विस्तारै मदिरा सेवन गरेर श्रीमतीमाथि कुटपिट गर्न थाल्छन् । त्यसपछि न्यान्सीको पात्रले भोग्नुपर्ने कठिन परिस्थितिलाई टिजरमा देखाउन खोजिएको छ । टिजर हेर्दा पारिवारिक कथावस्तु मनपर्ने दर्शकलाई फिल्म रुचिकर हुने देखिन्छ ।
भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्ममा सुशील र न्यान्सीसहित रिस्ता बस्नेत, सुशील पोखरेल, उत्तम केसी, अंशु महर्जन, पुष्कर राउत, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने, सृष्टि खड्का, रोनक खड्का, प्रीसा ढुङ्गाना, त्रिलोचन न्यौपानेलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ ।
सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको फिल्ममा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माताको रूपमा छन् । कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन् । फिल्ममा उग्रसेन ढुङ्गानाको कथा, अभिमन्यु निरवी र विनयराज पौडेलको पटकथा तथा संवाद, दिपेन बस्न्यातको छायांकन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा गौतमराज खड्काको सम्पादन रहेको छ ।

